post-slider post-slider

रिगललाई आममाफी दिने निर्णयविरूद्धको मुद्दामा आज सुनुवाइ

Image
A A

काठमाडौं- सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने निर्णयविरूद्धको मुद्दामा आज सुनुवाइ हुने भएको छ।

मंगलबार सुनुवाइ पूरा नभएपछि आज पुनः सुनुवाइ हुन लागेको हो।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस गरेको थियो।

मंगलबार महान्यायाधिवक्त दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए।

मन्त्रिपरिषदको सिफारिसअनुसार संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद मिनाहा गरेका थिए।

राष्ट्रपतिको निर्णयविरूद्ध हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

भारतीले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो।

गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि मंगलबारका लागि सुनुवाइ तय गरिएको थियो।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्ने कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो।

साथै अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेस गर्न उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेसी व्यवस्थापन गर्नसमेत आदेश दिएको थियो।

 

Tags: