post-slider post-slider

एसिया कपअघि नेपाली टोलीले पाकिस्तानमा अभ्यास गर्ने

Image
A A

काठमाडौं- दुई सातापछि पाकिस्तान र श्रीलंकामा सुरू हुन लागेको एसिया कपमा सहभागी ६ मध्ये तीन राष्ट्रले आफ्नो टोलीको घोषणा गरिसकेका छन्।

नेपाल परेको समूहमा भारत र पाकिस्तान छन्। नेपालको चासो यी दुई राष्ट्रका खेलाडीहरूप्रति हुनेछ।

पाकिस्तानले टिमको घोषणा गरिसकेको छ भने भारतले अहिलेसम्म टिम सार्वजनिक गर्न बाँकी छ।

फरक समूहमा रहेको बंगलादेशले टिमको नाम प्रकाशित गरे पनि श्रीलंका र अफगानिस्तानको टिम घोषणा हुन बाँकी छ। नेपालले गत सोमबार १७ सदस्यीय टोलीको घोषणा ग¥यो।

दुवै विपक्षी टिममा चर्चित  खेलाडीहरूको बाहुल्य भएकाले उनीहरूको खेल हेर्नुको बेग्लै रोमाञ्च हुने आशा गरिएको छ।

नेपालले भारत पाकिस्तानसँग इतिहासमा पहिलोपटक खेल्न लागेकोले यो प्रतियोगितालाई निकै महत्वका साथ हेरिएको छ।

हुनत केही दिनअघि एसिसी इमर्जिङ कपमा नेपालले भारतीय टोलीसँग प्रतिस्पर्धा गरिसकेको छ। तर, भारतले त्यो प्रतियोगितामा टिम ‘ए’ लाई उतारेको थियो।

नेपाली टोली आगामी साता पाकिस्तान जाने योजनामा छ। भारत र पाकिस्तानसँग खेल्नुअघि अभ्यास खेलका लागि नेपाली टोली त्यसतर्फ जान लागेको हो।

अभ्यास खेलाका लागि पाकिस्तान क्रिकेट बोर्डले व्यवस्था मिलाई दिएको छ।

सामान्यतः अन्तर्राष्ट्रिय प्रतियोगितामा १५ सदस्यीय टोली हुने भए पनि एसिया कपका लागि १७ सदस्यीय टोलीले खेल्न पाउने व्यवस्था एसियाली क्रिकेट काउन्सिलले गरेको छ।

रोहित पौडेलको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान) ले तीन नयाँ खेलाडी किशोर महतो, श्याम ढकाल र सन्दीप जोरालाई सामेल गरेर टिमको घोषणा गरेको हो।

यी तीनबाहेक बाँकी सबै पुरानै खेलाडी छन्। प्रारम्भिक जोडीमा कुशल भुर्तेल र आसिफ शेख छन्। आसिफले विकेटकिपिङ पनि गर्नेछन्।

मध्यक्रममा अर्जुन साउद, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल, सन्दीप जोरा र आरिफ शेख हुनेछन्।

अलराउन्डरका रूपमा दीपेन्द्रसिंह ऐरी र गुलशन झा छन्। बलिङमा सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, प्रतीश जोसी, श्याम ढकाल र किशोर महतो हुनेछन्।

भारतले भने केही चोटिल खेलाडीहरूको पछिल्लो अवस्थाबारे निश्चित भइ नसकेकोले टिम घोषणा नगरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतका पूर्व राष्ट्रिय खेलाडी अजित अगरकर नेतृत्वको खेलाडी चयन समितिले खासगरी केएल राहुल र श्रेयश अय्यर राम्ररी फिट हुने पर्खाइमा रहेको बताइएको छ।

दुई महिनापछि आफ्नै भूमिमा एकदिवसीय विश्वकपको आयोजना गर्न लागेको भारतले एसिया कपलाई त्यसको तयारीको रूपमा हेरेको छ।

एसिया कपका लागि रोहित शर्माको नेतृत्वमा भारतीय टोलीमा शुभमन गिल, इशासन किसन, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, सन्जु सैमसन, हार्दिक पान्ड्या, सूर्यकुमार यादव, रवीन्द्र जडेजा, अक्षर पटेल, युजवेन्द्र चहल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद सामी र मोहम्मद सिराज हुनसक्ने अनुमान गरिएको छ।

यी खेलाडीहरूबाट अन्तिम १७ को नाम छनोट गरिने बताइएको छ।

उदघाटन खेलमा पाकिस्तानको सामना गर्ने नेपालले भारतका चर्चित खेलाडीहरूसँग श्रीलंकाको क्यान्डी मैदानमा भदौ १८ गते खेल्ने तालिका छ।

 

Tags: