प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, राज्यमन्त्री लेखीले गरिन् स्वागत
काठमाडौं- चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्ली पुगेका छन्।
१० पुसमा तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो।
बुधबार दिउँसो १ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नयाँदिल्ली गएका हुन्।
प्रचण्डलाई नयाँदिल्लीको इन्दिरा गान्धी विमानस्थलमा भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन्।
प्रचण्डको स्वागतका लागि विदेश राज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका थिए।
यसअघि २०७८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सरकारका तत्कालीन रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए।
स्वागत कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोली होटल पुगेको छ। प्रचण्डसहितका अतिथिहरूलाई भारत सरकारले सरदार पटेल मार्गस्थित होटल मौर्यमा बस्ने व्यवस्था मिलाएको छ।
सरकारको नेतृत्वमा फर्र्किएको पाँच महिनापछि प्रधानमन्त्री प्रचण्ड बुधबार भारत भ्रमणमा गएका हुन्।
प्रधानमन्त्री प्रचण्डको २० जेठमा स्वदेश फर्किने कार्यक्रम छ।