post-slider post-slider

सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न निधिको माग

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले खुकुरी आक्रमणमा परी घाइते भएका पार्टीका सहमहान्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

नेता निधि आइतबार साँझ वीर अस्पताल पुगेर सहमहामन्त्री यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

उक्त क्रममा उनले सहमहामन्त्री यादवसँग घटनाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गरेका थिए।

निधिले घटनाको प्रकृति हेर्दा ज्यानमार्ने उद्योग देखिएको बताउँदै घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरे।

‘जसरी यो घटना भएको छ त्यो हेर्दा ज्यानमार्ने उद्योग देखिन्छ, अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न म सरकारसँग माग गर्दछु,’ उनले भने।

खुकुरी आक्रमणमा परी घाइते भएका कांग्रेस सहमहामन्त्री यादवको वीर अस्पतालमा उपचार भइरहेको छ।

भृकुटीमण्डस्थित रिपोर्टर्स क्लबको कार्यक्रममा भाग लिई गाडी चढ्ने क्रममा २० भदौमा उनीमाथि खुकुरी प्रहार गरी आक्रमण भएका थियो।

यादवमाथि आक्रमण गर्ने नुवाकोटको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटा पक्राउ परेका छन्।

प्रहरीले सापकोटालाई आक्रमणमा प्रयोग भएको हतियारसहित तत्काल नियन्त्रणमा लिएको थियो। यादवको टाउकोको पछाडि भागमा गहिरो चोट लागेको छ।

Tags: