मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, चैत १८- मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह विक, खोप अधिकृत उदेश श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारले हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक लक्ष्मी आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको भनी मुद्दा परेको छ।
अख्तियारले उनीहरूविरुद्ध दुई करोड ८९ लाख रुपैयाँ बिगो, जरिवाना र जेल सजाय माग दाबी लिएको छ।
कोभिड-१९ ताका अस्पतालमा उपकरण खरिद गर्दा तीन वटा कम्पनी प्रतिस्पर्धामा थिए। ती तीन वटामध्ये पण्डितको कम्पनीले सबैभन्दा बढी रकममा मेडिकल सामग्री खरिद गर्न कबोल गरेको थियो।
सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र परेकोमा उक्त बोलपत्र रद्ध गरी नयाँ बोलपत्र जारी गरी प्रक्रिया थाल्नुपर्नेमा पण्डितको कम्पनीलाई नै दिइएको थियो।