post-slider post-slider

आजदेखि पाँच वर्षसम्म चल्ने एमसिसी कार्यान्वयनमा जाँदै

Image
A A

काठमाडौं- अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आजबाट कार्यान्वयनमा जाने भएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रम गरी एमसिसी कार्यान्वयनमा गएको घोषणा गरिनेछ।

उक्त कार्यक्रमका लागि एमसिसीका सम्झौता कार्य-सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून एलफोर्ड काठमाडौं आएका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको नेतृत्वदायी भूमिका रहेको एमसिसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको जनाएको छ।

‘नेपालमा एमसिसीको कार्य अवधिभर बृहत्तर सरोकारवालाहरू, नेपालका सरकारहरू र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको हो । यस सम्झौताको सफल कार्यान्वयन सुनिश्‍चित गर्न एमसिए-नेपालसँग साझेदारी गर्न हामी प्रतिबद्ध छौं। साथै, सम्झौताका लक्ष्यहरू समयमै हासिल गर्न संलग्न सबैले लगनशीलताका साथ काम गरिरहेका छौं,’ दूतावासले भनेको छ।

आज कार्यान्वयनमा गएको घोषणा भएसँगै एमसिसीको पाँच वर्षे अवधि पनि गणना सुरू हुनेछ। यसको अर्थ एमसिसीअन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ।

एमसिसीअन्तर्गत ३१५ किलोमिटर लामो विद्युत प्रसारण लाइन, विद्युत सबस्टेशन र सडक मर्मत  आयोजना रहेका छन्।

प्रसारण लाइनअन्तर्गत पहिलो खण्डमा लप्सीफेदी – रातमाटे – नयाँ हेटौँडासम्मको ११७ किमि लामो प्रसारण लाइन बनाइने छ भने दोस्रो खण्डमा रातमाटेदेखि नयाँ दमौलीसम्मको ९० किमि र तेस्रो खण्डमा नयाँ दमौलीदेखि नयाँ बुटवलसम्मको ९० किमि र नयाँ बुटवलदेखि नेपाल-भारत सीमासम्मको १८ किमिको प्रसारण लाइन बनाइने छ।

नुवाकोटको रातमाटे, तनहुँको दमौली र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को भुमहीमा ४०० केभी क्षमताका सबस्टेशन बनाउन लागिएको छ।

सडक आयोजनाअन्तर्गत पूर्व-पश्चिम राजमार्गमा पर्ने दाङको धानखोलादेखि लमहीसम्मको सडकको स्तरोन्नति गरिनेछ।

यी सबै आयोजनाहरू कार्यान्वयनमा गएको पाँच वर्षभित्र सकिनै पर्ने एमसिसी सम्झौतामा उल्लेख छ।

Tags: