post-slider post-slider

भारतीय विदेशमन्त्री नेपाल आउँदै, के–के हुँदैछ सम्झौता?

Image
A A

काठमाडौं
भारतीय विदेशमन्त्री एस।जयशंकर बिहीबार काठमाडौं आउने भएका छन्।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन जयंशर काठमाडौं आउन लागेका हुन्।

भारतीय वायुसेनाको विशेष विमानबाट विदेशमन्त्री जयशंकरसहितको टोली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन्।

टोलीमा विदेशमन्त्री जयशंकरसहित विदेश सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क हेर्ने महासचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापनलगायतका पदाधिकारी पनि नेपाल आउन लागेको बताइएको छ।

विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने कार्यक्रम छ।

परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाटसँगै विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।

विदेशमन्त्री जयशंकरले बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ।

त्यस्तै परराष्ट्र मन्त्रालयले आयोजना गरेको रात्रि भोजमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक भेटघाटको कार्यक्रम पनि तय भएको छ।

के–के हुँदैछ सम्झौता?

विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल–भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ।

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिअनुसार सहमतिपत्रमा हस्ताक्षर हुन लागेको हो।

बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गर्ने तय भएको ऊर्जा मन्त्रालयका प्रवक्ता एवं सहसचिव नवीनराज सिंहले जानकारी दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत जेठमा भारत भ्रमण गरेका बेला १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति भएको थियो।

तीन प्रसारण लाइनको उदघाटन

अधिकारीहरूका अनुसार भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणका क्रममा तीनवटा महत्वपूर्ण प्रसारण लाइनको उदघाटन हुनेछ।

ती प्रसारण लाइनमध्ये दुईवटा यसअघि नै सञ्चालनमा आइसकेको भए पनि दोस्रो सर्किट थप भएका हुन्।

रक्सौल–परवानीपुर, कुशाहा–कटैया प्रसारण लाइनको एक–एकवटा सर्किट सञ्चालनमा थिए। ती प्रसारण लाइनमा अर्को थप गरेर डबल सर्किट बनाइएको छ।

ती प्रसारण लाइनको क्षमता १३२ केभी रहेका छन्।

यसैगरी न्यू नौतनवा–मैनाहिया १३२ केभी प्रसारण लाइनको पनि उदघाटन हुनेछ। 

डबल सर्किट क्षमताको यो प्रसारण लाइनबाट २ सय मेगावाट बराबरको बिजुली आदानप्रदान हुनेछ। यो प्रसारण लाइनको हालमात्रै निर्माण सम्पन्न भएको हो।

ऊर्जा मन्त्रालयले तयार पारेको प्रस्तावमा नानपारा–कोहलपुर १३२ केभी प्रसारण लाइनको विषय पनि समावेश छ।

त्यस्तै भारतीय कम्पनी सतलज विद्युत निगमले निर्माण गरिरहेको ९ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाइनको विषयमा आवश्यक सहमति खोजिने छ।

यो प्रसारण लाइनको क्षमता दुई हजार मेगावाटभन्दा बढी भएकाले त्यसको क्षमता उपयोग गर्ने विषयमा सहमति जुटाउने नेपालको तयारी छ।

नेपालले यो प्रसारण लाइनको उपभोग गरेर थप बिजुली भारत निर्यात गर्न सकिने बताउँदै आएको छ।

 

Tags: