नेपालका प्रधानमन्त्रीहरू भारत जान्छन्, भेट्दैनन् विपक्षी नेता
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने औपचारिक भारत भ्रमणका लागि बुधबार नयाँ दिल्ली जाँदैछन्।
दिउँसो १ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली जान लागेका हुन्।
भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाइ तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, ऊर्जा, पञ्चेश्वर परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायतका विषयमा छलफल हुने बताइएको छ।
त्यस्तै भ्रमणका क्रममा सन् १९९९ को नेपाल–भारत परिवहन सन्धिमा थप सुविधासहित पुनरावलोकन हुने बताइएको छ।
सार्वजनिक भएको भ्रमण तालिकाअनुसार बिहीबार बिहान ११ बजे नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीसँग आधा घण्टा ‘वन टु वन’ वार्ता गर्नेछन्।
त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन्। प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन हुनेछ।
बिहीबार नै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदी धनखडसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमणको तालिकामा विपक्षी दलका नेताहरूसँग भेटघाटको कार्यक्रम समावेश गरिएको छैन। भ्रमण कार्यक्रममा समावेश नभएपछि यसपालिको भ्रमणमा उनले भारतका विपक्षी दलका नेताहरूसँग भेटवार्ता नगर्ने बताइएको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा पाँच मन्त्रीसहित ११० जनाभन्दा बढी छन्।
प्रचण्डको चारदिने औपचारिक भ्रमण सुरू हुँदै गर्दा धेरैको ध्यान बिहीबार उनले आफ्ना समकक्षी मोदीसँग गर्ने भनिएको भेटवार्तामा केन्द्रित छ।
तेस्रो कार्यकालका लागि सत्ता सम्हालिरहेका प्रचण्डले सोमबार संसदमा बोल्दै आफ्नो यो भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ पार्न र विश्वासको वातावरण निर्माण गर्न महत्वपूर्ण हुने बताएका थिए।
कूटनीतिका जानकारहरू प्रधानमन्त्री प्रचण्डले ‘भारत सरकारबाहेक त्यहाँका विपक्षी र बौद्धिक वर्गसँग पनि अन्तरक्रिया गर्नुपर्ने’ टिप्पणी गरेका छन्।
उसो त विगतमा नेपालका प्रधानमन्त्रीहरू भारत भ्रमणमा जाँदा त्यहाँका विपक्षी नेताहरूलाई पनि भेट्ने गरेका थिए।
२०६५ मा चीन भ्रमणबाट फर्र्किएर दिल्लीको भ्रमण गर्दा प्रचण्डले त्यो बेला विपक्षी दलका नेता लालकृष्ण आडवाणीसँग छलफल गरेका थिए।
यसपालि चौथौंपटक भारत भ्रमणमा गएका प्रचण्डको भ्रमणतालिकामा विपक्षी नेताहरूलाई भेट्ने कार्यक्रम समाविष्ट नभएको बताइन्छ।
हालकै वर्षहरूमा आफ्नो औपचारिक भारत भ्रमणमा विपक्षी कांग्रेसका नेताहरूसँग भेटवार्ता नगर्ने पहिलो नेता प्रचण्ड होइनन्।
गत वर्ष प्रधानमन्त्री मोदीको निम्तोमा भारत जाँदा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गरेका थिए। तर, विपक्षी दल कांग्रेसका नेताहरूसँग अन्तरक्रिया गरेनन्।
त्यसअघिको आफ्नो भ्रमणमा पूर्वप्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस नेत्री सोनिया गान्धीसँग भेटवार्ता गरेका देउवाले पछिल्लोपटक ‘व्यस्तताका कारण’ विपक्षी नेतालाई भेट्न नपाएको बताइएको थियो।
गत वर्षको निर्वाचनअघि भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको निम्तोमा उक्त दलको मुख्यालय भ्रमण गर्ने कार्यसूचीसहित माओवादी अध्यक्ष प्रचण्ड दिल्ली पुगेका थिए।
त्यो बेला विपक्षी नेताहरूलाई नभेटी स्वदेश फर्किएका उनले प्रधानमन्त्री मोदीलाई भेट्न समय पाएनन्। भारतीय विदेशमन्त्री एस.जयशंकरले उनीसँग भेटवार्ता गरेका थिए।
पार्टीगत सम्बन्ध बलियो बनाउने विषयमा बिजेपी अध्यक्ष जेपी नड्डासँग छलफल भएको भ्रमणपछि प्रचण्डले बताएका थिए।
ब्रिटिस उपनिवेशविरूद्धको भारतीय स्वतन्त्रता संग्राममा भारतमा बसेर नेपालमा राणा शासनको विपक्षमा संघर्ष गरिरहेका कैयौं नेताहरू प्रत्यक्ष रूपमा सहभागी भएका थिए।
कांग्रेसका संस्थापक नेता बिपी कोइराला र भारतका अग्रणी समाजवादी नेताहरूबीच विद्यमान घनिष्ठ सम्बन्धले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको चर्चा अझै हुने गरेको छ।
हाल प्रतिपक्षमा रहेका नेकपा एमाले र सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका नेताहरूले बेलाबेलामा भारतीय वामपन्थी दलहरूसँगको आफ्नो सम्बन्धबारे चर्चा गर्छन्।
हालका वर्षहरूमा नेपालबाट हुने उच्चस्तरीय भ्रमणहरूमा भारतका विभिन्न पक्षसँग अन्तरक्रिया हुन छाडेको र त्यसले दीर्घकालमा दुई देशबीचको सम्बन्धमा नै असर पार्ने कैयौं विज्ञहरूको ठम्याइ छ।
हालैका वर्षमा नक्सा विवाद, विगतमा भएका सहमतिको कार्यान्वयनमा देखिएका उदासीनताजस्ता कैयौं सवालले नेपाल–भारत सम्बन्धमा नयाँ चुनौतीहरू थपिएका छन्।
यस्ता समस्याहरूको समाधान गर्न सत्तापक्षका साथै प्रतिपक्षी दलका नेताहरूसँग पनि अन्तरक्रिया जरूरी भएको भारतका लागि राजदूत रहिसकेको निलाम्बर आचार्यको भनाइ छ।
भारतमा यतिबेला सत्तापक्ष र प्रतिपक्षबीच सुमधुर सम्बन्ध छैन। हालै नयाँ संसद भवनको उदघाटन कार्यक्रम प्रमुख प्रतिपक्षी कांग्रेससहित अरू विपक्षी दलहरूले बहिष्कार गरे।
संसद भवनको उदघाटन प्रधानमन्त्री मोदीले नभइ राष्ट्रपतिले गर्नुपर्ने उनीहरूको भनाइ थियो।
सत्तापक्ष र प्रतिपक्षबीच नै सहज सम्बन्ध नरहेकोले छिमेकी मुलुकबाट भ्रमणका लागि आउने प्रधानमन्त्रीका लागि प्रतिपक्षी दलका नेतासँग भेट्ने कार्यक्रम नबनेको हुनसक्ने पनि बताइन्छ।
‘संसद भवनको उदघाटनमा कुनै पनि प्रतिपक्ष नआउनु भनेको त्यहाँभित्र नै सहज सम्बन्ध छैन। वातावरण नमिलेर नै यस्तो भएको होला,’ प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल भन्छन्।
प्रचण्ड दिल्लीमा हुँदा कांग्रेस नेता राहुल गान्धी अमेरिकामा हुनेछन्। तर, उनको दलका अध्यक्ष मिल्लकार्जुन खड्गे भने भारतमै हुनेछन्।
प्रधानमन्त्री प्रचण्डको यसपालिको भ्रमणमा व्यापार तथा पारवहन, हवाइ तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग, ऊर्जा लगायतका मुद्दामा दुवै पक्षबीच छलफल हुने बताइएको छ।
भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायतका विषयमा समेत टुंगोमा पुग्ने प्रयास हुने अधिकारीहरूले बताएका छन्।
त्यस्तै भ्रमणका क्रममा सन् १९९९ को नेपाल–भारत परिवहन सन्धिमा थप सुविधासहित पुनरावलोकन हुने बताइएको छ।
अधिकारीहरूका अनुसार प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा नयाँदिल्लीमा मन्त्रीस्तरीय यो सन्धिमा हस्ताक्षर गर्न तय भएको छ।
यो सन्धि लागु भएपछि नेपालले पहिलोपटक भारतको आन्तरिक जलमार्गमा पारवहन पहुँच पाउने बताइएको छ। त्यसले आयात तथा निर्यातका लागि लागत र समय कम हुने जानकारहरूको भनाइ छ।
यस्तो छ प्रधानमन्त्रीको भ्रमणतालिका
प्रचण्डसहितका अतिथिहरूलाई भारत सरकारले होटल मौर्यमै बस्ने व्यवस्था मिलाएको छ।
साँझ ६ बजेट होटलमै भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।
डोभालले प्रधानमन्त्री प्रचण्डसँग करिब आधा घण्टा छलफल गर्ने समय निर्धारण गरिएको छ।
बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुग्नेछन्। त्यहाँ पुष्पहार अर्पण गरेपछि हैदराबाद हाउस फर्किनेछन्।
हैदराबाद हाउसमा बिहान ११ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ। दुवै प्रधानमन्त्रीको भेटवार्ताका लागि आधा घण्टाको समय छुट्याइएको छ।
त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन्। प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।
त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ।
बिहीबार नै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नेछन्।
उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ।
त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र भारतीय उद्योग परिसंघ (सिआइआइ) ले संयुक्तरूपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका पारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।
यसैगरी भारतका लागि भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले भेटघाट गर्ने कार्यक्रम छ।
भ्रमणको तेस्रो दिन शुक्रबार प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेसको उज्जैन र इन्दोर भ्रमणमा जानेछन्।
चौथो दिन शनिबार इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे प्रचण्ड नयाँदिल्ली फर्किने छन्।
त्यही दिन उनको नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको अपराह्न ४ः२० को उडानबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ।