post-slider post-slider

‘राष्ट्रपति संसदभन्दा माथि हुँदैन’

Image
A A

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति संसदभन्दा माथि नहुने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले नागरिकता विधेयक गैरसंवैधानिक रूपमा प्रमाणीकरण गरेको बताउँदै राष्ट्रपति सदनभन्दा माथि हुन नसक्ने बताए।

उनले राष्ट्रपति संसदको अंग भएको र संसदभन्दा माथि नभएको जिकिर गरे।

राष्ट्रपतिले संसदको मर्यादाको ख्याल राख्नुपर्ने उनको भनाइ थियो।

भट्टराईले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसदको अधिकार हनन गरेको पनि बताए।

मन्त्रिपरिषदले राष्ट्रपतिलाई उक्साएर नागरिकता विधेयक प्रमाणीकरण गरेको भनेर उनले प्रश्न उठाए।

‘प्रधानमन्त्रीले आफूलाई नभएको अधिकार विधेयक प्रमाणीकरण सिफारिस गर्ने अधिकार उहाँलाई कसले दियो? त्यो अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साउने? संसदको विशेष अधिकार हनन गर्नेमाथि पनि कारबाही हुनसक्छ,’ उनले भने,‘राष्ट्रपति कार्यालयले पठाएको पत्रको धारा ६६ र ६१ मा विधेयक प्रमाणीकरण कहाँ छ? संसद र नेपाली जनतालाई दिउँसै ढाँट्ने? ढाँट्न प्रधानमन्त्रीले उक्साउने? राष्ट्रपति संसदभन्दा माथि हुँदैन।’

भट्टराईले राष्ट्रपतिलाई सभामुख वा राष्ट्रियसभा अध्यक्षले पठाएको विधेयक प्रमाणीकरण गर्ने अधिकारमात्र भएको उल्लेख गरे।

‘राष्ट्रपतिले संसदभन्दा पठाएको सभामुख अथवा राष्ट्रियसभा अध्यक्षले पठाएको विधेयक प्रमाणीकरण गर्ने अधिकार राष्ट्रपति कार्यालयसँग छ। त्यो विधेयकमा कुन सभामुखको नाम छ? तपाईंको नाम छ कि अग्निप्रसाद सापकोटाको?’ उनले प्रश्न गरे।

सांसद भट्टराईले नागरिकताजस्तो संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरे।

 

Tags: