post-slider post-slider

त्रियुगा नगरपालिकाका तत्कालीन मेयरसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रियुगा नगरपालिकाका तत्कालीन मेयरसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन प्रमुख बलदेव चौधरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, तत्कालीन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौंडाका प्रोपराइटर तथा ठेकेदार राजेश बछारविरू विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मेयर चौधरीले नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री गर्न ठेक्का लगाउँदा मिलेमतोमा न्यूनतम रकम कायम गरेको अख्तियारले दाबी गरेको छ।

नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसारको अनुमानित राजस्व रकम नउठाइ ६२ लाख ९१ हजार २०४ रूपैयाँ र ठेक्का नै नभएको माटो भरौटे र बलौटेको राजस्व १८ लाख ४४ हजार १७७ रूपैयाँ चौधरीले चुहावट गरेको अख्तियारको ठहर छ।

अख्तियारले चौधरीविरूद्ध १ करोड ६२ लाख ७० हजार ७६४ रूपैयाँ मागदाबी गर्दै सजायको माग गरेको छ।

त्यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्कीले प्रतिवेदन तथा नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयलाई अनदेखा गरी बरुवा, त्रियुगा र सुनकोशी नदीबाट नदीजन्य पदार्थ उत्खनन र बिक्री कार्यका लागि न्यूनमत ठेक्का कायम गर्न निर्णय स्वीकृत गर्ने कार्यमा सहभागी भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

अख्तियारले कार्कीविरूद्ध पनि सजायसहित १ करोड ६२ लाख ७० हजार ७६४ रूपैयाँ मागदाबी गरेको छ।

ठेक्का प्रक्रियामा संलग्न भइ राजस्व चुहावट गरेको आरोपमा अख्तियारले तत्कालीन राजस्व शाखा प्रमुख ढकाल र ठेकेदार बछारविरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले ढकालविरूद्ध १ करोड ६२ लाख ७० हजार ७६४ र बछारविरूद्ध ३६ लाख ८८ हजार ३५५ रूपैया मागदाबी गर्दै आरोपपत्र दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।

 

Tags: