post-slider post-slider

पाँच वर्ष राजनीति गर्न पाउँदैनन् इमरान खान!

Image
A A

काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि सार्वजनिक पद धारण गर्न प्रतिबन्ध लगाइएको छ।

भ्रष्टाचारको अभियोगमा पक्राउ परेका खानलाई तीन वर्षको जेल सजाय घोषणा भएको तीन दिनपछि पाकिस्तानको निर्वाचन आयोगले यो निर्णय गरेको हो।

मंगलबारको यो निर्णयपछि खान सांसद पदबाट पनि मुक्त हुनेछन्।

उनले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक दुरशायबाट प्रेरित भएको दाबी गरेका छन्। यद्यपि पाकिस्तान सरकारले त्यसको खण्डन गरेको छ।

पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री मरियम औरङ्गजेबले यो निर्णय घोषणा गर्नुअघि ‘कानुनअनुसार तपाईं आफूले गरेको कामका लागि उत्तरदायी हुनुपर्छ। यसको राजनीतिसँग कुनै सम्बन्ध छैन। अदालतले दोषी प्रमाणित गरेको व्यक्तिलाई पक्राउ गर्नैपर्छ’ भनेका थिए।

७० वर्षीय खान सन् २०१८ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

देशको शक्तिशाली सेनासँग असमझदारी बढेपछि गत वर्ष अविश्वासको प्रस्तावमार्फत उनी सत्ताच्युत भएका थिए।

पाकिस्तानको राजनीतिमा सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ। 

उसले ‘कू’ मार्फत बेलाबेलामा शासन आफ्नो हातमा लिएको इतिहास छ। तर अरू बेला नेपथ्यमा बसेर राजनीतिमा आफ्नो प्रभाव कायम राख्छ।

कैयौं विश्लेषकहरूले सन् २०१८ पछि खान सत्तामा आउनुमा सेनाको सहयोग रहेको बताउने गरेका छन्।

विपक्षमा पुगेका खानले सैन्य नेतृत्वको कटु आलोचना गर्दै आएका छन्। आफू पदच्युत भएपछि उनले तत्काल चुनाव हुनुपर्ने माग गर्दै आएका थिए।

शनिबार घोषणा भएको खानविरूद्धको फैसला उनले विदेश जाँदा प्राप्त गरेका उपहारहरू र तिनको कथित बिक्रीबाट हात परेको गलत विवरण दिएको भन्ने अभियोगमा केन्द्रित थियो।

त्यसलाई तोशाखाना मुद्दा भनिने गरेको छ।

झन्डै १४ करोड पाकिस्तानी रूपैयाँभन्दा बढी मूल्यका ती उपहारहरूमा रोलेक्स घडी, एउटा औँठी तथा एक जोडी कफलिङ्क छन्।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार खानलाई पाँच वर्षका लागि कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य ठह¥याइएको छ।

यो सजाय तोशाखाना मुद्दामा उनी दोषी ठहर भएको निर्णयसँग सम्बन्धित छ।

पाकिस्तानको कानुनअनुसार कुनै पनि दोषी व्यक्तिले पाकिस्तानको निर्वाचन आयोगले तोकेको अवधिभरि सार्वजनिक पदका लागि चुनाव लड्न पाउँदैनन्।

उनका कानुनी समूहले खानलाई दोषी ठहर गर्ने फैसलाविरूद्ध पुनरावेदन गरेको छ।

पूर्वप्रधानमन्त्री खान अहिले इस्लामाबादनजिककैको जेलमा छन्।

उनी पक्राउ पर्नुअघि रेकर्ड गरिएको एउटा भिडियो सन्देश सामाजिक सञ्जाल ‘एक्स’ मा खानको खाताबाट सार्वजनिक गरिएको थियो।

त्यसमा उनले आफ्ना समर्थकहरूलाई भनेका छन्, ‘मेरो मात्रै एउटा आग्रह छ–चुप लागेर घरमा नबस्नुहोस्।’

पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का अध्यक्षसमेत रहेका खान भ्रष्टाचारको मुद्दामा लाहोरस्थित निवासबाट पक्राउ परेपछि उनको पार्टीका कैयौं वरिष्ठ नेताहरूले पार्टी छाडेका छन्।

खान पक्राउ परेपछिको प्रदर्शनमा संलग्न भएको आरोपमा हजारौं समर्थकहरू पक्राउ परेका छन्।

 

Tags: