post-slider post-slider

६० किलो सुन प्रकरण : २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

Image
A A

काठमाडौं- काठमाडौं जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

सुन प्रकरणमा थुनछेक बहस सकिएपछि शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजसाले २५ जनालाई केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

अदालतले भोजपुर अरुण गाउँपालिका–४ का हर्कराज राई, चिनियाँ नागरिकहरू याओ पुचेङ, केटीबी रेस्टुरेन्टका सञ्चालक टियान मी, वेन तोङ, विमानस्थलबाट सुन आसार्ने डिङ सेग्फा, लि नेङकाइ र लि वेन सुङ्गलाई थुनामा पठाउन आदेश दिएको छ।

त्यस्तै बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, भारतीय नागरिक थुप्तेन छिरिङलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

यसैगरी कृष्णकुमार श्रेष्ठ, पुस्करराज भट्ट, भन्सार एजेन्टहरू राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतमलाई पनि अदालतले पुर्पक्षका लागि हिरासतमा राख्न आदेश दिएको छ।

त्यस्तै दोलखाको मेलुङ गाउँपालिका–३का रामकुमार भुजेल, सोही ठाउँका दिलिप भुजेल, बुटवलका सुमन खरेल, सुनचाँदी व्यवसायी शिवकुमार सर्राफ, दावाको सहयोगी मानिएका किशोर बस्नेत, भन्सार अधिकृत सन्तोष चन्द, गणेशकुमार पौडेल, नायब सुब्बा विरेन्द्र नेपाली, विमानस्थल भन्सार कार्यालयका जाँचकी कुमार ढकाल र भन्सारमा एक्स–रे हेर्ने नायब सुब्बा सरोज श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।

अदालतले रुकमणी सुब्बालाई भने पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। २६ जना थुनामा रहेकोमध्ये सुब्बालाई मात्रै धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।

काठमाडौं जिल्ला अदालतमा ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर भएको छ।

जसमध्ये ३ जना फरार छन्।

 

Tags: