post-slider post-slider

‘पाँच वर्ष यो गठबन्धन टुट्नेवाला छैन’

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले अहिलेको गठबन्धन पाँच वर्षसम्म चल्ने बताएका छन्।

महेन्द्रनारायण निधि प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको समाजसेवा र शान्ति विषयका विचार गोष्ठीमा बोल्दै निधिले यस्तो बताएका हुन्।

‘यो गठबन्धन चल्दैन भनेर बाहिर हल्ला चलेको छ। गठबन्धन तोडेर कुनै फाइदा छैन। गठबन्धन टुट्नेवाला छैन। पाँच वर्ष यही गठबन्धन रहन्छ,’ निधिले भने।

उनले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस एक्लैले चुनाव लड्ने गरी तयारी गर्नुपर्ने बताए।

‘पाँच वर्ष यो गठबन्धन केही हुँदैन, यथावत रहन्छ,’ निधिले भने,‘तर आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले अहिलेदेखि तयारी थाल्नुपर्छ। कांग्रेसले एक्लै चुनाव लड्ने तयारी अहिलेदेखि सुरू गर्नुपर्छ।’

उनले पार्टीको केन्द्रीय समिति बैठक बोलाउनेबारे छलफल चलिरहेको जानकारी दिए। केन्द्रीय समिति बैठक बोलाउने विषयमा सभापति शेरबहादुर देउवासँग समेत छलफल भएको निधिले बताए।

‘केन्द्रीय समितिको बैठक बोलाउन साथीहरूले निवेदन दिनुभएको छ सभापतिजीले भन्नुभयो,’ उनले भने,‘आज बिहानै सभापतिजीसँग कुराकानी भएको छ। उहाँले यो विषय राख्नुभएको छ। सभापतिजीले बैठक बोलाउनु हुन्छ।’

निधिले यतिबेला पदका लागि राजनीति भइरहेको भन्दै त्यो उपयुक्त नभएको जिकिर गरे।

राजनीतिका लागि सबैथोक पदमात्रै नभएको उनको भनाइ थियो।

‘प्रधानमन्त्री बन्नु र नेता बन्नु फरक कुरा हो। पटके प्रधानमन्त्री पनि हामीले धेरै हेरिसकेका छौं,’ निधिले भने,‘बिपी कोइराला थोरै समयका लागि प्रधानमन्त्री बन्नुभयो। तर, नेताका रूपमा अहिलेका नयाँ पार्टीहरूले पनि उहाँको नाम लिइरहेको छ। महात्मा गान्धी कहिल्यै कुनै पदमा बस्नु भएन, तर नेता बन्नुभयो।’

कार्यक्रममा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेललगायतका नेताहरूले सम्बोधन गरेका थिए।

 

Tags: