post-slider post-slider

‘नेपाल–भारत सम्बन्ध कुनै पनि बाहिरी शक्तिले तोड्न सक्दैन’

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले वैदिक कालदेखिको नेपाल–भारत सम्बन्ध परस्पर हित, रक्षालगायतका क्षेत्रका लागि महत्वपूर्ण भएको बताएका छन्।

भारत राजस्थान प्रदेसको उदयपुरमा जनार्दनराय नागर राजस्थान विद्यापीठले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध’ विषयक गोष्ठीमा बोल्दै निधिले यस्तो बताएका हुन्।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता निधिले नेपालमा उपलब्ध जलविद्युतको सहयोगबाट भारतमा विद्युतीकरण हुनुका साथै नेपाललाई विकासतर्फ अगाडि बढ्न सहज हुने बताए।

‘नेपाल जलस्रोतको धनी देश हो। नेपालको विद्युत खरिद गरेर भारतले विद्युतीकरणमा जोड दिइरहेको छ। यो प्रक्रियाले नेपाललाई विकासको बाटोमा अगाडि बढ्न सहयोग पु¥याउँछ मैले विश्वास लिएको छु,’ उनले भने।

नेता निधिले नेपाल र भारतबीचको सम्बन्ध रोटी–बेटीको रहेको उल्लेख गरे।

‘नेपाल र भारतबीच सदियौंदेखि बेटी–रोटीको सम्बन्ध रहँदै आएको छ। वैदिककालदेखि रहेको यो द्विपक्षीय सम्बन्ध अटुट थियो र रहनेछ,’ उनले भने,‘यो सम्बन्धलाई कुनै पनि बाहिरी शक्तिले तोड्न सम्भव छैन।’

उनले नेपाल–भारतबीच सांस्कृतिक र ऐतिहासिक सम्बन्ध दुई देशका जनताबाट निर्मित भएकाले टुट्न नसक्ने बताए।

नेपाल र भारत अनेक दृष्टिले समान भएका कारण भारतको विकासका साथ नेपालको विकास पनि जुडेको उनको भनाइ थियो।

निधिले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका राजनीतिकर्मीले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे।

‘हामी प्रजातन्त्र स्थापनार्थ राणा शासनविरूद्ध संघर्ष गरिरहेका थियौं। तपाईंहरूको लडाइँ अंग्रेजविरूद्ध चलिरहेको थियो,’ निधिले भने,‘तपाईंहरूको स्वतन्त्रता आन्दोलनमा नेपालका कैयौं नेताहरू प्रत्यक्ष रूपमा भाग लिनुभएको थियो। उहाँहरू भारतमै जेलनेल बस्नुभयो।’

 

Tags: