post-slider post-slider

अझ कहिलेसम्म बढ्छ गर्मी?

Image
A A

काठमाडौं- उखरमाउलो गर्मीका कारण केही दिनयता देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ।

जल तथा मौसम विज्ञान विभागले तराई भूभागमा अझै केही दिन ‘लू’ अर्थात तातो हावा चल्न सक्ने भएकोले सकेसम्म बाहिर ननिस्कन आग्रह गरेको छ।

असह्य गर्मीका कारण तराई भूभागमा शिक्षण संस्थाहरू समेत बन्द भएका छन्।

विभागका अनुसार बिहीबार नेपालका चार ठाउँमा अहिलेसम्मकै सर्वाधिक तापक्रम मापन गरिएको छ।

नवलपरासीको दुम्कौली, सुनसरीको धरान बजार, इलामको कन्याम चिया बगान र ओखलढुंगामा हालसम्मकै उच्च तापक्रम मापन गरिएको हो।

दुम्कौलीमा ४३.८ डिग्री सेल्सियस, धरनामा ३९.३, ओखलढुंगामा ३१ र कन्याम चिया बगानमा ३० डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ।

विभागस्थित हावापानी विश्लेषण शाखाकी प्रमुख तथा वरिष्ठ मौसमविद इन्दिरा कँडेलका अनुसार अहिलेको गर्मीसँग तीनवटा अवस्था जोडिएको देखिन्छ।

‘पहिलो त नेपालको भौगोलिक अवस्थितिका कारण यो समयमा सूर्यको किरण धेरै आउँछ जसका कारण जमिनको सतह धेरै तात्छ र हावालाई पनि तताउँछ, दोस्रो अहिले वर्षा गराउने गतिविधि कम भएको र तेस्रो जलवायु परिवर्तनको असर हो,’ उनले भनिन्।

जल तथा मौसम विज्ञान विभागस्थित मौसमविद रोजन लामिछानेका अनुसमार मनसुन सुरू नभएसम्म गर्मी कम हुने सम्भावना देखिएको छैन।

मनसुन सुरू भएपछि तापक्रम घट्ने उनको भनाइ छ।

नेपालमा अझै पाँच सात दिनसम्म मनसुन सक्रिय नहुने पूर्वानुमान रहेको वरिष्ठ मौसमविद कँडेलको भनाइ छ।

मौसमविदहरूका अनुसार ‘एल निन्यो’ हुने बेला नेपालमा मनसुनमा कम वर्षा हुने गरेको पाइएको छ। त्यो हुँदा पनि गर्मी बढ्छ।

नेपालमा तथ्यांक राख्न थालिएयता सबैभन्दा उच्च तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ।

विभागका अनुसार सन् १९९५ को जुन ५ तारिखमा धनगढीमा ४६.४ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ।

सन् १९९५ कै मे ३ मा ४५.२ डिग्री सेल्यिस र जुन १६ मा नेपालगञ्जमा ४५ डिग्री सेल्सियस मापन भएको विवरण छ।

सन् २०१२ को मे २८ मा दिपायलमा ४५ डिग्री सेल्सियस र सन् २०१२ को जुन १४ तारिखमा सुर्खेतमा तापक्रम ४२ डिग्री सेल्सियस पुगेको थियो।

 

Tags: