छोराछोरी हुर्काउने बाबु
काठमाडौं- महिलाले घर, छोराछोरी र परिवारको हेरचाह गर्नु साधारणतया सामान्य मानिन्छ। तर, पुरुषले घर बसेर बच्चाहरूको हेरचाह गर्ने कुरा केही मानिसहरू पत्याउँदैनन् वा अनौठो मान्छन्।
तर, धेरै देशहरूमा ‘स्टे–ऐट–होम ड्याड’ अर्थात बाबु घरमा बसेर बच्चा हुर्काउने चलन बढ्दै गएको देखिन्छ।
समाजमा पहिले पनि यस्तो हुने गरेको विज्ञहरू बताउँछन्।
फरक यतिमात्र हो कि अहिले मानिसहरू यसबारेमा कुरा पनि गर्न थालेका छन्।
भारत तमिलनाडुको विल्लुपुरम जिल्लाका बेंकट चलापति भन्छन्,‘म घरमै बस्छु। म घरमै बस्ने बुबा हुँ।’
वेंकट सन् २०१० देखि घरमै बस्ने बुबाको भूमिका आफूले निर्वाह गरिरहेको बताउँछन्।
सन् २००६ मा छोरी जन्मेपछि र २०१० मा उनको सम्बन्धविच्छेद भयो। वेंकटले त्यसपछि छोरीका लागि समय दिने सोच बनाए।
उनी भन्छन्,‘आफूलाई घरमा बस्ने बुबाको रूपमा म चिनाउँदिनँ। पहिले मानिसहरू घरमा बसेको भनेर मेरोबारेमा कुरा गर्थे तर म बेवास्ता गर्थे। यद्यपित ती कुराहरूले मलाई सताउँथ्यो। तर समयसँगै सबै चुप लाग्दै गए।’
अमेरिकामा भने घरमा बस्ने बुबाको अभ्यास सामान्य हो। भारतमा पनि वेङ्कट जस्ता बुबाहरू भेटिन्छन्, तर कति पुरुषहरू घरमा काम गरेर बस्छन् भन्ने आधिकारिक तथ्याङ्क छैन।
बीबीसी संवाददाता अमान्डा रुगेरीको बीबीसी वर्क लाइफमा प्रकाशित रिपोर्टले सन् १९८९ र २०१२ को बीचमा अमेरिकामा ुस्टे(एट(होमु बुबाको सङ्ख्या द्रुत गतिमा बढेको उल्लेख गरेको छ। तर अझै पनि यस्ता परिवारको सङ्ख्या धेरै छैन।
अमेरिकामा ५.६ प्रतिशत परिवारमा महिलाहरू कामकाजी छन् र घरमा पुरुष बस्छन्।
साथै २८.६ प्रतिशत परिवारमा बुबा काममा जान्छन् र आमा घरमा बस्ने गरेका छन्।
यद्यपि, यी तथ्याङ्कहरूमा बेरोजगार र काम खोजिरहेका व्यक्तिहरू पनि समावेश छन्।
युरोपियन युनियनको कुरा गर्ने हो भने यो सङ्ख्या अझै कम छ। एक अनुमान अनुसार प्रत्येक १०० जना मध्ये एक जना पुरुषले आफ्नो पेसाबाट छ महिनाको विश्राम आफ्नो बच्चाको हेरचाहमा लिन्छन् भने तीनमध्ये एक महिलाले त्यसो गर्छन्।
अस्ट्रेलियाको मेलबर्न विश्वविद्यालयका वरिष्ठ लेक्चरर ब्र्यान्डन चर्चिल भन्छन्, ‘अमेरिका र अस्ट्रेलिया जस्ता देशहरूमा एक आदर्श बुबाले आफ्ना छोराछोरीको पालनपोषणमा पहिलेभन्दा बढी चासो लिने अपेक्षा गरिन्छ।’
ब्रेन्डन चर्चिल समाजशास्त्र पढाउँछन्। उनले अभिभावकत्वको विषयमा अनुसन्धान गरेका छन्। वेङ्कट पहिले जागिर गरिरहेका थिए। तर उनले बच्चाका लागि जागिर छोडिदिए।
‘छोरी हेर्दै म जागिरका लागि कार्यालय जान सम्भव थिएन। पैसा कमाउन घरबाटै साना–साना काम गरिरहन्छु। निसहरूले मलाई दोस्रो विवाह गर्न पनि सुझाव दिएका थिए। तर मैले मानिसहरूका यी कुराहरूमा कहिल्यै प्रतिक्रिया दिइनँ,’ उनले भने।
घरबाटै काम गर्ने बाबु
बेङ्गलुरुकी डाक्टर र तथा अभिभावकत्व सम्बन्धी परामर्शदाता देबमिता दत्त अमेरिकामा पूर्ण रूपमा घरमा बस्ने बुबा हुनु सामान्य भए पनि भारतमा त्यो अझै दुर्लभ रहेको बताउँछिन्।
उनी भन्छिन्, ‘विगत केही वर्षहरूमा विशेषगरी कोभिडपछि ुस्टे(एट(होमु बुबाहरूको सङ्ख्या धेरै गुणा बढेको छ। म उहाँहरूलाई घरमा बस्ने बुबा नभएर घरबाट काम गर्ने बुबा भन्छु। मसँग काम गर्ने पुरुषहरू पनि प्रायः घरबाट काम गर्छन् उनीहरूले घरमा पनि धेरै जिम्मेवारीहरू सम्हाल्ने गरेका छन्।’
अमेरिकाको सेन्ट लुइसमा बस्ने मयङ्क भागवत पत्रकार हुन्। पत्रकारितामा २० वर्ष बिताएका उनी अहिले अमेरिकामा बस्दै आएका छन्।
उनी भन्छन्, ‘मेरी श्रीमतीले यहाँ अनुसन्धान गरिरहेकी छन्। उनलाई सहयोग गर्न म यहाँ आएको हुँ। म घरमै बस्छु र घरबाट काम गर्छु।’
मयङ्क भागवत २०२१ मा आफ्नी श्रीमतीसँग अमेरिका पुगेका थिए।
उनी भन्छन्, ‘यहाँ आएपछि हामीले केही कुरा परिवर्तन गर्नुपर्छ भन्ने सचेत निर्णय गरेका थियौँ। म घरबाट काम गर्ने मेरो निर्णयमा खुसी छु।’
घरमा बस्ने चुनौतीहरू
घरबाट काम गर्ने बुबाले कार्यालयको कामसँगै घरको जिम्मेवारी पनि निर्वाह गरिरहेको डा। देबमिता दत्त बताउँछिन्।
देबमिता दत्त डाक्टर र अभिभावक प्रशिक्षक पनि हुन्।
उनी भन्छिन्, ‘हाम्रो समाजमा पुरुषलाई घरको काम गर्न सिकाएर हुर्काइएको छैन। कैयौँ पुरुषहरूले उनीहरूलाई घरको काम धेरै भएको गुनासो समेत गर्ने गरेका छन्।’
‘तर नयाँ जमानाका श्रीमान् र बुबाहरूले घरको काम सिक्न हरसम्भव प्रयास गरेको मैले देखेकी छु। मकहाँ आउने धेरैजसो बुबाहरू घरबाट काम गर्छन्। उनीहरू साँच्चै सबै कुरा सिक्न चाहन्छन्। मैले सहरहरूमा यो प्रवृत्ति बढी देखेकी छु।’
बीबीसी वर्क लाइफमा प्रकाशित लेखका अनुसार पुरुष कुनै पनि स्तरमा हेरचाह प्रदान गर्न महिलाभन्दा कम नभएको उल्लेख छ।
भर्खरै गरिएको एक अनुसन्धानले महिलाहरू जस्तै पुरुषहरूमा पनि आमाबाबु बने पछि हर्मोनल परिवर्तनहरू हुने देखाएको छ।
शरीरमा भएको यो परिवर्तनले व्यक्तिलाई धेरै पालनपोषण गर्ने वा बालबालिकाप्रति हेरचाह गर्ने र सहानुभूतिशील बनाउन मद्दत गर्छ।
वेङ्कटका अनुसार “हरेक दिन खाना पकाउनु ठूलो काम जस्तो लाग्थ्यो।”
‘...तर अहिले धेरै वर्षपछि बिस्तारै सबै कुरा सहज भएको छ। अहिले छोरीको मन पर्ने खाना पकाउँछु र घरको बाँकी काम पनि गर्छु।’
अमेरिकामा सबै काम आफैँले गर्नुपर्ने मयङ्कको अनुभव छ। आफूले घरको जिम्मेवारी सम्हालेको र श्रीमतीले पनि त्यसमा सहयोग गर्ने उनी बताउँछन्।
‘कहिलेकाहीँ म थकित हुन्छु र उनले काम गर्छिन्। तर, कार्यालयबाट आएपछि धेरै काम गर्न नपरोस् भन्ने प्रयास हो। तर एउटा कुरा प्रस्ट छ कि घर चलाउनु सजिलो काम होइन, धेरै मेहनत चाहिन्छ।’
ठूला र साना सहरहरूमा बाबुले घरको काम गरेर आमा काममा जाने अवधारणा देखिएको डा। देबमिता दत्त बताउँछिन्।
मयङ्क भन्छन्, ‘अमेरिकी समाज निकै खुला छ, यहाँका मानिसहरू सानो परिवारमा बस्छन्। यहाँ आमाबुवा दुवैले घरमा होस् वा काममा बाहिर जाँदा सबै कुरा गर्न आवश्यक छ। तर, मेरो परिवारले यो निर्णयमाथि प्रश्न उठाएनन्।’
तर सबैको कथा एउटै हुँदैन।
वेङ्कट भन्छन्, ‘मेरी छोरी अहिले १२ कक्षामा छिन्। मैले किन घरमै बस्ने निर्णय गरेँ भन्ने उनलाई थाहा छ। तर मानिसहरू हाम्रो कुरा बुझ्दैनन् र हामी बेवास्ता गर्छौँ। म सोध्छु, के पुरुषलाई घरमा बसेर आफ्नो बच्चाको हेरचाह गर्ने अधिकार छैन?’
मयङ्क र वेङ्कट आफ्ना छोरीहरूलाई बढी समय दिन सक्षम भएकोमा सहमत र सन्तुष्ट देखिन्छन्। (बिबिसीबाट)