post-slider post-slider

गाउँपालिकाका अध्यक्ष यादवमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन निधिको माग

Image
A A

जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले धनुषाको मुखियापट्टी मुसहरिनया गाउँपालिकाका अध्यक्षमाथि भएको सांघातिक आक्रमणमा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्।

निधिले गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि आक्रमण गर्ने व्यक्तिहरूलाई तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन माग गरेका हुन्।

यादवलाई भेट्न निधि शनिबार जनकपुरधामको जिरोमाइलस्थित उनको निवास पुगेका थिए।

बिहीबार राति करिब १ बजे पालिकाका एक बिरामीलाई भेटेर प्रादेशिक अस्पतालबाट गाडीमा फर्किँदै गर्दा यादवमाथि सांघातिक आक्रमण भएको थियो।

पछ्याएर नियोजित रूपमा घटना घटाइएको बताउँदै निधिले कुनै पनि बहानामा दोषी उम्किन नदिने गरी अनुसन्धान गर्नुपर्ने उल्लेख गरे।

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका उनले भने,‘सुन्दा यो घटना नियोजित रूपमा घटाइएको छ। मैले डिआइजी र एसपीलाई फोन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन भनेको छु। यो जनकपुरको सुरक्षाको विषय पनि हो। घटनामा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिन म संघीय सरकारसँग पनि माग गर्दछु।’

उनले घटना भएको राति स्थानीयवासीले पनि १०० नम्बरमा फोन गरे पनि कुनै सक्रियता नअपनाइएको बताउँदै प्रहरी प्रमुखलाई घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरे।

अध्यक्ष यादवले घटनाबारे जानकारी दिँदै प्रहरी प्रमुख र कन्ट्रोलको १०० नम्बरमा फोन गर्दासमेत कुनै सक्रियता नदेखाइएको निधिलाई सुनाएका थिए।

उनकाअनुसार घटना भएको चार / पाँच घण्टापछि मात्रै प्रहरी प्रमुख घटनास्थल पुगेका थिए।

घटना भएको तपसी चोकभन्दा केही दूरीमा जिरोमाइल प्रहरी चौकी रहेको छ।

अध्यक्ष यादवले राति करिब १ बजेतिर १०४७ नम्बरको स्कोर्पियो गाडीमा सवार ७÷८ जनाको समूहमा रहेका व्यक्तिहरूले आक्रमण गरेका थिए।

उनका अनुसार पहिलो आक्रमण जनकपुरधाम–४ स्थित कलबारकुट्टी नजिक भएको थियो। 

‘कलवारकुट्टीनजिक पहिलो आक्रमणको प्रयास भयो। म आफैं गाडी चलाइरहेको थिएँ। त्यहाँबाट छलेर सिसिटिभी हुनसक्ने भनेर तपसीचोक आइपुगेँ। मलाई घेराबन्दी गरी गाडीबाट निकालेर तछाडमछाड तथा कुटपिट गरे,’ उनले भने।

यादवले आफूले तत्कालै एसपी र प्रहरी चौकीमा फोन गरे पनि सम्पर्क हुन नसकेको बताए।

आफू असुरक्षित रहेको जानकारी यसअघि नै जिल्ला प्रहरी कार्यालयमा गराइसकेको बताउँदै उनले एक्लै भएको मौका छोपेर नियोजित ढंगबाट आक्रमण गरिएको उल्लेख गरे।

 

 

Tags: