post-slider post-slider

मेडिकल व्यापारी दुर्गा प्रसाईं पक्राउ

Image
A A

काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईंलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लागानी गरेको प्रमाण भन्दै कागज पत्र सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको बुझिएको छ।

विद्युतीय कारोबार ऐन अन्तर्गत प्रसाईंलाई मंगलबार नै अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिने ब्युरो प्रवक्ता होविन्द्र बोगटीले बताए। 

प्रसाईंले सोमबार आफूले कम्बोडियामा ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेपछि आफूलाई फेरि झुटो मुद्दा लगाई पक्राउको तयारी गरेको बताएका थिए।

प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागज देखाएका थिए। उक्त कागज अपत्यारिलो देखिन्छ।

यस्तै, प्रसाईंले सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्री ओलीको नामसमेत गल्ती देखिएको छ भने उनको हस्ताक्षर नै किर्ते गरेको पाइएको छ।

बोगटीले प्रारम्भमै प्रधानमन्त्री ओलीको गलत विवरण तथा हस्ताक्षर किर्ते गरेको पाइएपछि प्रहरीले प्रसाईंलाई पक्राउ गरेको बताए। तर, त्यो कागजात कहाँ बनाइयो र प्रसाईंबाहेक क-कसको मिलेमतो रहेको छ भन्ने विषयमा अनुसन्धान हुन बाँकी छ।

राजनीतिक शक्तिकेन्द्रबाट भड्किए,  विवादका रोलमोडल कहलिए

झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईं धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक हुन्। विवादास्पद छविका प्रसाईंले यसअघि पनि विभिन्न अभिव्यक्तिका कारण चर्चामा आउने गरेका छन्। 

बैंकको ऋण मिनाहा भन्दै उनले जनतालाई उक्साउन आन्दोलन गर्दै आएका छन् भने केही निश्चित समुदायलाई लक्षित गरी उनले अभिव्यक्ति दिने गरेका छन्। 

प्रसाईं सुरूमा नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहालसँग निकट थिए। पछि नेकपा एमाले अध्यक्ष समेत रहेका ओलीसँग नजिक भए। 

एकताका माओवादी र एमाले एकीकरण गर्ने बेलामा उनले आफ्नै घरमा दुई नेतालाई वार्तामा पुर्‍याएका थिए। दुई नेतालाई चरेशको थालमा मार्सी चामलको भात खुवाएर प्रसाईं चर्चामा आए। 

प्रसाईं दाहाल र ओली दुबै सत्तामा रहँदा आफ्नो मेडिकल कलेजको सम्बन्धन नपाएपछि प्रसाईं भड्किएका थिए। त्यसपछि उनले दाहाल र ओलीविरूद्ध आधारहीन टिप्पणीहरू गर्न थाले। 

राजनीतिक शक्तिकेन्द्रबाट टाढिएपछि उनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्ध बनाउने प्रयास गरे। धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान भन्दै उनले झापामा शाहबाट अभियानको उद्घाटन गराए। 

तर, शाहले समेत नपत्याएपछि एक्लिएका प्रसाईं मंसिर ७ गते तस्करहरूको पत्तासाफ गर्ने दिन भन्दै उनले पत्रकार सम्मेलनमै धम्की दिएका थिए। उनले उक्त कागजात देखाएर यो कास्टिङ भन्दै अझै अरू कुरा आउन बाँकी रहेको बताएका थिए।

प्रसाईंले प्रधानमन्त्री ओलीको सचिवालयमा रहेका राजनीतिक सल्लाहकार विष्णु रिमाल, एमाले सचिव प्रदीप ज्ञवाली, ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायतको समेत नाम लिएर गालीगलौज गरेका थिए। 

प्रसाईंले पत्रकार सम्मेलनमै प्रमाण भनिएको कागजात ल्याउन एक करोड साढे ११ लाख रुपैयाँ खर्च गरेको बताएका थिए। उक्त कागजात ल्याउने मानिसलाई समाइसकिएको र उनको हत्या गरिँदैछ भनी अभिव्यक्ति दिएका थिए। 

तीन अपराधमा मुद्दा चलाइने

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहित तीन वटा कसुरमा अनुसन्धान गरिने ब्युरोले जनाएको छ।

प्रसाईंविरुद्ध साइबर अपराध, कागजात किर्ते र मानहानीको कसुरमा अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाइने सिआइबीको तयारी छ।

प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबी गर्दै प्रसाईंले सोमबार एक भिडियो सार्वजनिक गरेका थिए।

सो भिडियोमा प्रयोग गरिएको सामाग्री नक्कली रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रसाईसँगै फेक भिडियो बनाउने अन्यलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने सिआइबीले बताएको छ। 

प्रसाई यसअघि गत असोज ६ गते पनि पक्राउ गरेका थिए। विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीको आधारमा प्रसाईं त्यतिबेला पक्राउ परेका थिए। उनी त्यति बेला ९ दिन हिरासत बसेर एक लाख धरौटीमा रिहा भएका थिए।

Tags: