post-slider post-slider

भारतमा रेल दुर्घटना हुँदा २८० बढीको मृत्यु, ९ सय बढी घाइते

Image
A A

काठमाडौं - भारतका पूर्वी राज्य ओडिसामा रेल दुर्घटना हुँदा २८० जनाभन्दा बढीको मृत्यु भएको छ भने ९ सय जनाभन्दा बढी घाइते भएका छन्।

ओडिसाको बालासोर जिल्लामा रेलहरू एकअर्कामा ठोक्किएर दुर्घटना भएको हो।

ओडिसाका मुख्यसचिव प्रदीप जेनाले घटनास्थलमा २ सयभन्दा बढी एम्बुलेन्स पठाइएको जनाएका छन्।

एउटा यात्रुवाहक रेल पटरीबाट बाहिर खसेको र त्यो अरू रेलहरूमा ठोकिन पुगेको बताइएको छ।

मृतकका संख्या अझै बढ्नसक्ने अधिकारीहरूले बताएका छन्। 

भारतीय रेलवेका अनुसार कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस आपासमा जुधेर दुर्घटना भएको हो।

जेनाका अनुसार सयभन्दा बढी चिकित्सकहरू घटनास्थलमा परिचालन गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबाट आफू अत्यन्त दुःखी भएको बताएका छन्।

उनले ट्विटरमा लेखेका छन्,‘दुर्घटनास्थलमा उद्धार कार्य जारी छ र प्रभावितहरूलाई सम्भव भएसम्म सहयोग गरिँदैछ।’

गृहमन्त्री अमित शाहले घटना ‘घटना अत्यन्त पीडादायी’ भएको भनेका छन्।

शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेसका धेरै डिब्बाहरू भारतीय समयअनुसार शुक्रबार साँझ ७ बजे पटरीबाट खसेको थिए। तीमध्ये केही विपरित ट्र्याकमा पुगेको अनुमान गरिएको छ।

अर्को रेल हावडा सुपरफास्ट एक्सप्रेस यशवन्तपुरबाट हावडा जाँदै थियो र त्यो पल्टिएको डिब्बामा ठोक्किन पुगेको बताइएको छ।

भारतीय अधिकारीहरूका अनुसार घटनास्थलमा रोकिएको अवस्थामा भएको अर्को मालवाहक रेलमा पनि ती दुई रेलका डिब्बाहरू ठोक्किन पुगेको थियो।

भारतमा विश्वको सबैभन्दा ठूलो रेल सञ्चाल छ र क्रमशः सरकारले पूर्वाधार सुधार गर्न अर्बौं लगानी गरिरहेको छ।

तर, भारमा रेल दुघर्टनाहरू सामान्य जस्तै बनेका छन्।

यसअघि भारतको सबैभन्दा खराब रेल दुर्घटना सन् १९८१ मा भएको थियो।

त्यो बेला बिहार राज्यमा एउटा चक्रवातको समयमा यात्रुहरूको भिड भएको रेल ट्र्याकबाट नदीमा खसेको थियो। त्यो दुर्घटनामा ८ सय जनाको ज्यान गएको थियो।

 

Tags: