post-slider post-slider

‘मन्त्रीपरिषद पुनर्गठनको तयारी’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद पुनर्गठनको तयारीमा जुटेका छन्।

मन्त्रिपरिषद पुनर्गठन हुनसक्ने संकेत प्रचण्डले सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममै दिइसकेका थिए।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनका लागि तयारी गरे पनि निष्कर्षमा भने पुगि नसकेको बताइएको छ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा प्रधानमन्त्री मन्त्रिपरिषद पुनर्गठनको तयारीमा रहेको बताएका छन्।

मन्त्रीहरू हेरफेर गरेर भए पनि सरकारको कामको गतिलाई अझ तीव्रता दिनेबारे छलफल भइरहेको तर निष्कर्षमा नपुगेको उनले बताए।

मन्त्रीहरू हेरफेरका लागि सत्ता साझेदार दलहरूको पनि सहमति चाहिने र राष्ट्रियसभा सदस्यको निर्वाचन पनि आउन लागेकाले तत्काल परिवर्तनको सम्भावना भने कमै रहेको छ।

माओवादी केन्द्रले सञ्चालन गरेको देशव्यापी अभियानबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले प्रधानमन्त्री मन्त्रीहरू फेरबदल गर्ने सोचमा रहेको बताए।

मन्त्रीहरू हेरफेर गरेर सरकारको कामलाई थप प्रभावकारी बनाउने उनको चाहना रहेको सापकोटाको भनाइ छ।

‘मन्त्रिपरिषद पुनर्गठन गरेर भए पनि प्रधानमन्त्रीले जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी काम गर्न चाहनुभएको छ। यस विषयमा गठबन्धनमा र पार्टीमा छलफल भएको छ। निष्कर्ष आइसकेको छैन,’ उनले भने।

११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २३ पुषमा मनोनयन दर्ता हुँदैछ। सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गठबन्धनभित्रै तालमेल मिलाएर चुनावमा जाने निर्णय गरिसकेको छ।

कांग्रेसजस्तै गठबन्धनका अरू दलहरू पनि तालमेल गरेर साझा उम्मेदवार दिने निष्कर्षमा पुगेको छ। तर, सिट बाँडफाटका लागि भने गठबन्धन दलहरूबीच सहमति भइसकेको छैन।

सिट बाँडफाँटका विषयमा छलफल भए पनि निष्कर्ष आइनसकेको माओवादी केन्द्रका प्रवक्ता सापकोटाले बताए। 

उनका अनुसार गठबन्धनका लागि सिट बाँडफाँट र उम्मेदवार तय गर्न उच्चस्तरीय वार्ता जारी छ।

सिट बाँडफाँटमा सहमति जुटाएर उम्मेदवार तय हुने गठबन्धन दलका नेताहरूले बताएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचनपछि मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी ‘कोर्स’ अगाडि बढ्नसक्ने गठबन्धनका नेताहरूको भनाइ छ।

 

Tags: