post-slider post-slider

सामाजिक सञ्जालमा देखिने ‘डाइटिङ प्लान’: कति सही कति हानिकारक?

Image
A A

चिनजानका दाजुको शरीर सर्लक्कै घटेको देखेपछि प्रिया मानन्धरले पनि वजन कम गर्ने अठोट लिइन्।

कार्बोहाइड्रेट कम भएको खानामार्फत शरीर घटाउने योजनाबारे उनले अन्य केही मानिसबाट पनि सुनेकी थिइन्। सोही अनुरूप काठमाण्डूको एक निजी क्लिनिकमा गइन् र १६,००० रुपैयाँ रकम तिरेर खानाको तालिका लिइन्।

त्यसमा खान मिल्ने भनेर राखिएको सूचीमा थिए- माछा, रातो मासु (बोसोसहित), घ्यू, अण्डा, पनिर, चिज, मौसमी सागपात, कागती, ग्रीन टी वा कालो कफी, मुला र काँक्रो, कब्जियत भएको खण्डमा सातामा एकदिन दहीमा नुन, सातामा एकदिन कालो दाल।

खाना नमिल्ने- कुनै पनि अन्न, गेडागुडीलगायत धेरै कुरा।

मानन्धरले आफ्नो खानाको तालिका बनाइदिने विज्ञको सुझाव ग्रहण गरिन्। उनको आहारसँगै दैनिकी पनि बदलियो। हरेक दिन १६ घण्टा खाना नखाइ बस्ने गर्थिन् र बाँकी ८ घण्टाको अवधिमा तोकिएका खानाहरू खान्थिन्।

एक सातासम्म सबैकुरा सामान्य रह्यो। तर, आठौँ दिनदेखि आफ्नो स्वास्थ्य असामान्य महसुस भएको उनले बीबीसीसँग सुनाइन्।

“मलाई खाना खाँदा पनि वाक्क लाग्न थालेको थियो। तर म तौल घटाउने कुरामा दृढ थिएँ। जबरजस्ती डाइट प्लानलाई निरन्तरता दिएँ,” उनले भनिन्।

साधारण खान्कीबाट डाक्टरको सिफारिसमा विशेष खान्की खान थालेको पन्ध्रौं दिनदेखि कब्जियत र सास फेर्न सकस भएको तथा पेट फुल्ने समस्या ह्वात्तै बढेको उनले बताइन्।

“क्लिनिकमा फलोअपका लागि जान निर्धारित समय दिइएको १० दिन अगावै मेरो समस्या चुलियो। लगाएको लुगाको टाँकसमेत फुस्कने गरी पेट फुलेपछि म आत्तिएर क्लिनिक पुगेँ,” पूर्व सञ्चारकर्मीसमेत रहेकी मानन्धरले आफ्ना अनुभव सुनाइन्।

“त्यहाँबाट मेरो डाइट प्लान तत्काल रोकियो र अस्पतालको आकस्मिक कक्षमा जान सुझाइयो। पेटमा ग्याँस भरिएको रहेछ। केही समयको औषधोपचार पछि अवस्था सामान्य बन्दै गयो।”

करिब एक वर्षअघिको यस भोगाइले “आफ्नो शरीर चिन्न र आवश्यकता अनुसार खान” सिकाएको उनले जिकिर गरिन्। उनले भनिन्,”मिडिया वा सामाजिक सञ्जालमा भाइरल भएको विषयको पछि लागेर हुँदैन रहेछ। देखेको भरमा आफूलाई १६ घण्टा भोकै राखेँ। गलेर पानी पिउनसमेत उठ्न नसक्ने भएँ।”

उनले आफ्नो अनुभव सामाजिक सञ्जालमा साझा गरेपछि आहार तालिका पछ्याउन थालेपछि स्वास्थ्यमा समस्या भोगेका थप मानिस उनको सम्पर्कमा आए। हाल फाइबरमा उनीहरूको एउटा समूह नै बनेको छ। कतिपयले भिडिओ मार्फत् विभिन्न व्रत वा आहार योजनाले आफ्नो स्वास्थ्यमा पारेको असरबारे बोलेका छन्।

सामाजिक सञ्जालका सुझाव कति प्रभावकारी?

यद्यपि टिकटक, यूट्यूव तथा इन्स्टाग्राममा आहार योजना सार्वजनिक गर्दै आफूले सीमित समयमा उल्लेखनीय तौल घटाएको दाबी गर्नेहरूको सङ्ख्या कम छैन। कतिपयले आफूले दैनिक खाने खानाको जानकारी दिएका हुन्छन् भने कतिपयले खाली पेटमा जिरा पानी वा चिनी नराखी कालो कफी पिउने सुझाव। कतिपयले पानी मात्र पिउन सुझाएका हुन्छन् भने केहीले अण्डा मात्र खान।

केहीले “मेटाबोलिज्म बढाउने खाना”हरूको नाम दिएका हुन्छन् भने कतिपयले “बोसोसँगै मासु नघट्ने” उपाय बताउँछन्। सामान्य बन्दै गएको यस प्रवृत्ति उचित नभएको पोषणविद्को तर्क छ।

हरेक मानिसको शरीर, उसले खाने खाना, जीवनशैली, निद्राको बानीलगायत सबैकुरा फरक हुने भएकाले “एउटाको आहार योजना अर्कोका लागि उपयुक्त नहुने” बताउँछिन् पोषणसम्बन्धी परामर्श दिने मिताहाराकी पोषणविद् सुप्रिया भट्टराई।

“सबै मानिसलाई एउटै पोषण योजना लागू हुँदैन भन्ने एउटा विचार छ जसलाई जैव-व्यक्तित्व वा बायो इन्डिभिजुआलिटी भनिन्छ। त्यसैले एउटालाई जे कुरा सही हुन्छ त्यही कुरा अर्कोलाई सही नहुन सक्छ,” भट्टराईले भनिन्।

गाया न्यूट्रिसन नामक अर्को पोषण परामर्श दिने संस्थाकी पोषणविद् (न्यूट्रिसनिस्ट एवं हर्बलिस्ट) सोनाम लामाका अनुसार “धेरैले अरूलाई हेरेर आफ्नो खाना निर्धारण गर्न खोजेका हुन्छन्। तर यो उमेर, उचाइ, तौल र दिनचर्यासँग सम्बन्धित विषय हो भन्ने बुझेका हुँदैनन्”।

उनीकहाँ पुग्ने थुप्रै सेवाग्राहीले “सुरुमा आफैले डाइटिङको प्रयास गरेको र त्यसले काम नगरेकाले चिन्तित भएको” बताउने गरेका छन्।

कति भर पर्ने?

अनलाइनमा राखिएका भिडिओ वा लिखित सुझावहरू प्रभावकारी नहुने भए पनि त्यहाँबाट भेटिएका विज्ञ तथा व्यावसायिक पोषणविद् सँग सल्लाह लिनु गलत नहुने पोषणविद् हरू बताउँछन्।

“माध्यम गलत हुँदैन तर जोसँग तालिका बनाउन खोजिराख्नु भएको छ वा जसलाई प्रशिक्षक बनाएर उसैको सुझाव अनुरूप खान खोजिरहनु भएको छ उसको बारेमा राम्रो जानकारी लिन चाहिँ आवश्यक हुन्छ,” भट्टराईले भनिन्।

पोषणयुक्त खानालाई सन्तुलित रूपमा खान वैज्ञानिक आधार आवश्यक हुने भएकाले ‘हेरेको भर’मा कुनै पनि उपाय अपनाउनु ठीक नहुने उनले बताइन्।

‘डाइट’को अर्थ

पोषणविद् भट्टराईका अनुसार सन्तुलित भोजन (ब्यालेन्स्ड डाइट)को अर्थ नै फरक लगाइएको छ।

“मिडिया र सोसल मिडियामा वजन घटाउनुलाई डाइटको रूपमा व्याख्या गरिएको छ। तर यो अर्थ गलत छ,” उनले भनिन्।

“डाइट भनेको त आहार हो। तपाईँले बिहान बेलुका जे खानुहुन्छ त्यो आहार हो। खाना मिलाएर खाँदा त्यो सन्तुलित आहार हुन्छ।”

हाम्रो वातावरणमा पाइने र हामीले जे खाँदै हुर्कियौँ त्यही नै पोषणयुक्त सन्तुलित खाना भएको तर्क गर्छिन् पोषणविद् लामा। “ती खानाको मात्रा मिलाउनु आवश्यक हुन्छ। उदाहरणका लागि दालभात तरकारी खाँदा भात कम प्रोटिन युक्त तरकारी चाहिँ धेरै हुनुपर्‍यो।”

यसरी खाइने सन्तुलित खाना तौलसँग मात्र सम्बन्धित नभएको उनले बताइन्।

सन्तुलित आहारका फाइदा तथा बेफाइदा

कार्बोहाइड्रेट, प्रोटिन र फ्याटलगायत तत्त्वको मात्र मिलाएर शरीरको आवश्यकता अनुसार खानुले मानिसलाई मानसिक र शारीरिक रूपमा सक्रिय राख्ने जानकारहरू बताउँछन्।

“समग्र स्वास्थ्यमा यसले सकारात्मक र दीर्घकालीन प्रभाव पार्छ,” भट्टराईले भनिन्।

सन्तुलित खानाले निद्रादेखि शरीरको ऊर्जामा फाइदा पुर्‍याउने उनको भनाई छ।

यद्यपि, जथाभाबी आहार योजना पच्छ्याउनु वा वजन घटाउन भोको बस्नुले शरीरको ऊर्जा कम गर्ने, थकान महसुस गराउने, शरीरको मांसपेशीसँगै बल घट्ने जस्ता समस्या देखिन सक्ने बताइन्।

“मानिसको शरीरमा थोरै हुने तर अति महत्त्वपूर्ण माइक्रो न्यूट्रियन्ट भनिने भिटामिन बी, भिटामिन बी १२, म्याग्नेसियमजस्ता तत्त्वहरूको कमी हुनसक्छ। यस्ता तत्त्वले मानिसको शरीर सुगठित राख्न सहयोग पुर्‍याउँछ,” उनले भनिन्।

त्यस्तै शरीरलाई चाहिने पोषणबारे ख्याल नगरी खाना खाँदा/नखाँदा मानसिक स्वास्थ्यमा समेत असर गर्ने पोषणविद् ले बताइन्।

“कुनै कुरा बुझ्न समय लाग्ने वा स्पष्ट नहुनेजस्ता समस्या देखिन सक्छ।“

अस्वाभाविक रूपमा कपाल झर्ने, छालामा समस्या देखिने, थकान बढ्ने, कोलेस्टेरोल बढ्ने समस्या देखिन सक्ने बताइन्।

पानी, बोसो वा अण्डा मात्र खाने डाइटहरू हुन्छन्। व्यावसायिकहरूसँग कुरा नगरी डाइटिङ गर्दा समस्या देखिन सक्छ। अरूले गरेको देखेको भरमा गरे कोलेस्टेरोल बढी हुने हुन सक्छ। कुनै रोग भएका मानिसलाई हानिकारक स्थितिमा पुर्‍याउन सक्छ।

तौल घट्नुसँग कसरी सम्बन्धित छ?

आजभोलि धेरै मानिसले आहार योजनाका नाममा बाहिरको प्रशोधित खाना, गुलियो वा चिल्लो खान छोडेको पोषणविद् भट्टराई बताउँछिन्। तर, अस्वस्थ भनिएका खाना खान छोड्नु मात्र दीर्घकालीन रूपमा तौल नघट्ने उनको ठहर छ।

“मैदा, गुलियो खानेकुरा वा बाहिरको खाना कटाउँदा तौल घट्न सक्छ। जीवनशैली र खाना नै परिवर्तन भएको हुनाले शरीरमा परिवर्तन देखिन सक्छ। तर त्यो क्षणिक हो लामो समय रहँदैन,” उनले भनिन्।

सन्तुलित रूपमा तौल घट्न खाना सन्तुलित हुनुपर्ने र सन्तुलित खानाका लागि मानिसले आफ्नो शरीरलाई बुझ्नु पर्ने उनको धारणा छ।

“अरूको नक्कल गर्नुभन्दा सचेत हुनु र आफ्नो शरीरलाई बुझ्नु महत्त्वपूर्ण कुरा हो। खानासम्बन्धी आफ्नो बानीलाई सच्याउनु पनि आवश्यक हुन्छ,” उनले थप प्रस्ट्याइन्।

केही नखाई घटाइएको वजन फेरि बढ्ने तर मिलाएर खाएर घटाएको वजन दीर्घकालीन बन्ने उनको मत छ।

पोषण र सन्तुलित खानाबारे जानकारीहरू खोजिरहेकी प्रिया मानन्धरले पनि “आफ्नो शरीरको आवश्यकता बुझ्नुपर्ने” निष्कर्ष निकालेकी छन्।

उनी भन्छिन्,”आखिर मैले जुन दाइको शरीर घटेको देखेर डाइट प्लान सुरु गरेँ उहाँले पनि १५ दिनका लागि मात्र त्यो योजना पछ्याउनु भएको रहेछ। जुन कुरा राम्रो देखिन्छ त्यो हाम्रा लागि पनि राम्रै हुन्छ भन्ने हुँदैन रहेछ। शरीरअनुसार सही तरिका अपनाउनु पर्ने रहेछ।”

बीबीसी

Tags: