अघि बढ्यो प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया
काठमाडौं- लामो समयदेखि रिक्त रहेको सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त प्रक्रिया अगाडि बढेको छ।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीको सम्बन्धमा उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
२५ वैशाखमा बसेको संवैधानिक परिषदको बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिको बैठकले कार्कीका सम्बन्धमा १० दिनभित्र सार्वजनिक रूपमा उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
सार्वजनिक सूचना बुधबारको गोरखापत्रमा प्रकाशन गरिनेछ।
समितिले समिति सञ्चालनसम्बन्धी कार्यविधिसमेत पास गरेको छ। समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा बैठक बसेको थियो।
बैठकलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका थिए।