![post-slider](/assets/imgs/ads/1140x100 (2).png)
![post-slider](/assets/imgs/ads/NariBachat900x100.gif)
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका राजदूतबीच भेट
![Image](/thumbnails/82537380-a65b-4e66-9ce0-d9a2d0fd7161_Ganesh-timilsina.jpg)
काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छन्।
सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा अध्यक्ष तिमिल्सिना र राजदूत भोल्कबीच भेटवार्ता भएको हो।
भेटको क्रममा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे।
त्यस्तै उनले अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई दिने छात्रवृत्तिको संख्या बढाउनुका साथै अष्ट्रेलिया र नेपालका बीचमा सिधा हवाइ उडान सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए।
राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको जानकारी गराएकी थिइन्।
उनले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी अक्टोबरमा अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराएकी अध्यक्ष तिमिल्सिनाको सचिवालयले बताएको छ।