post-slider post-slider

‘लेफ्टहरूसँगको युनिटीको कुराले कांग्रेससँग डिसयुनिटी हुँदैन’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट पार्टीहरूबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने बताएका छन्।

नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा सोमबार चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

कम्युनिस्टहरूको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुननपर्ने उनले बताए।

प्रचण्डले भने,‘मैले लेफ्टहरूको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन।’

विगतमा कांग्रेस र कम्युनिस्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उनले कम्युनिस्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने जिकिर गरे।

देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गरेर यसपालि आफू प्रधानमन्त्री बनेको प्रचण्डको भनाइ छ।

‘जनता र संघीय गणतन्त्रमाथि खतराको घण्टी बजेको देखेर मलाई प्रधानमन्त्री बन्न लाग्यो। म नभइ हुँदैन जस्तो लाग्यो यसपटक। जसरी भए पनि प्रधानमन्त्री हुनुप¥यो भनेर म भएरै छाडेँ,’ उनले भने।

देशमा सुशासन, समृद्धि र न्यायको पक्षमा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यक्ता रहेको प्रचण्डले बताए।

प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग बिताएका क्षणको स्मरण गर्दै उनी आफ्नो प्रेरणाको स्रोत भएको उल्लेख गरे।

विगतमा गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको उनले बताए।

आफूले पटक–पटक गल्ती गर्दा पनि गिरिजा कोइरालाले भने विश्वास गर्दै संरक्षण गर्न नछाडेको उनले स्मरण गरे।

‘बरू मैले गल्ती गरेँ, उहाँले विल्कुल गर्नुभएन,’ प्रचण्डले भने,‘कतिपय सन्दर्भमा मैले गरेका प्रतिबद्धता जस्तोको तस्तै पूरा गर्न सकिनँ। तर, उहाँले मलाई कुनै न कुनै रूपमा संरक्षण गर्न छोड्नु भएन।’

अस्पताल भर्ना भएका बेला गिरिजा कोइरालाले आफूलाई एक्ले बोलाएर ‘सम्हाल्नु यो देश’ भनेको कुराले उनीप्रति अगाध आस्था र विश्वास भइराखेको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्न पेस भएको प्रस्तावलाई मन्त्रिपरिषदबाट अघि बढाउने आश्वासन दिए।

 

Tags: