post-slider post-slider

‘एमडिएमएस’ मा दर्ता नभएका मोबाइल आजदेखि बन्द हुने

Image
A A

काठमाडौं- मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली सोमबारदेखि लागु हुने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको ‘नेटवर्क लक’ गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो।

गत वर्ष असोज १ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालन गर्न लागेको हो।

प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्न सेवाप्रदायकलाई निर्देशन दिइएको छ।

अबदेखि हरेक दिन दर्ता नभएका त्यस्ता मोबाइल लक हुँदै जाने उनले बताएका छन्।

प्राधिकरणले एमडिएमएस लागु गर्नुपूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो।

त्यसअघि पनि प्राधिकरणले बारम्बर एमडिएमएस प्रणालीमा मोबाइल दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो।

प्राधिकरणले गत वर्ष भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइललाई आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकेको छ। तर, त्यसपछि आएका धेरै मोबाइल दर्ता नभएकाले त्यस्ता सेट सञ्चालनमा रोक लगाइने जनाएको छ।

प्राधिकरणका अनुसार गत वर्ष असोजयता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा दर्ता छैनन्।

बजारमा अवैध मोबाइलसमेत खुलेआम बिक्री भएको जनाउँदै प्राधिकरणले मोबाइल आयातकर्ता र बिक्रेतलाई पनि मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणमा स्वीकृति लिएर दर्ता गर्न आग्रह गरेको छ।

बजारमा अवैध मोबाइल खरिद हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले खरिदपूर्व त्यसको ‘आइएमइआइ’ प्रणालीमा दर्ता भए / नभएको यकिन गर्न पनि आग्रह गरेको छ।

 

Tags: