post-slider post-slider

भारतमा बाढीपहिरोबाट प्रभावित नेपालीको सहायताका लागि के गर्दै छ दूतावास

Image
A A

भारतका विभिन्न राज्यमा आएको बाढी नेपालीहरू पनि परेको खबर आएसँगै ती राज्यमा रहेका आफ्ना नागरिकको अवस्थाबारे “जानकारी लिन थालिएको” भारतस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका प्रवक्ताका अनुसार “विशेषगरी उत्तर भारतीय पहाडी तथा हिमाली राज्यहरूमा रहेका” नेपालीको अवस्था बुझ्न थालिएको हो।

हिमाचल राज्यको शिमला जिल्लामा पहिरोले पुरिएर रुकुम पश्चिमका एकै परिवारका तीन जनाको ज्यान गएको परिवारका सदस्य तथा स्थानीय तहका अधिकारीहरूले पुष्टि गरेका छन्।

नेपाली दूतावासले चाहिँ “तीन जनाको ज्यान गएको अनौपचारिक जानकारी मात्र आएको” बताएको छ।

शिमलामै रहेका मृतकका एक आफन्तले “रकमको अभावमा त्यहाँ रहेका नेपालीहरूसँग सहयोग उठाई तीनै जनाको शव नेपाल ल्याउन लागिएको”  जानकारी दिएका छन्।

नेपाली दूतावास के भन्छ?

दिल्लीस्थित नेपाली दूतावासले भारतका विभिन्न स्थानमा बाढी प्रकोप देखिएपछि त्यस क्षेत्रमा रहेका नेपालीहरूबारे जानकारी लिने कार्य जारी रहेको जनाएको छ।

दूतावासका प्रवक्ता रेवतीरमण पौडेलले बाढीपहिरोबाट अति प्रभावित मध्येको एक हिमाचल प्रदेशका विभिन्न स्थानमा रहेका नेपालीहरूसँग दूतावासले सम्पर्क गरेको बताए।

“हामीले त्यहाँ रहेका नेपालीहरूसँग सम्पर्क गरेका छौँ। तर उहाँहरूलाई नै पनि प्रभावित क्षेत्रमा परेका नेपालीबारे धेरै जानकारी नभएकाले कतिपय कुरा आउन सकेको छैन,” उनले भने।

“अन्य प्रभावित क्षेत्रका नेपालीहरूसँग पनि हामीले कुराकानी गरेर जानकारी लिने र आवश्यक सहयोगका लागि पहल गर्ने काम गरिरहेका छौँ।”

त्यस्तै प्रभावित क्षेत्रमा रहेका नेपालीहरूलाई आवश्यक सहयोग गर्न भारतीय अधिकारीहरूसँग समन्वय पनि जारी राखिएको दूतावासका अधिकारीहरूको भनाइ छ।

मृतकका परिवार के भन्छन्?

हिमाचलको पहिरोमा परेर नेपालको रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-९ का तीन व्यक्तिको ज्यान गएको उनीहरूका आफन्त र स्थानीय तहका जनप्रतिनिधिले पुष्टि गरेका छन्।

उनीहरूका अनुसार उक्त गाउँपालिकाका एकै परिवारका सदस्यहरूको मृत्यु भएको हो।

मृतकहरु पतिपत्नी र उनीहरूको १७ वर्षका छोरा भएको उक्त गाउँपालिका वडा नं ९ का वडाअध्यक्ष हरिबहादुर खड्काले बताए।

उनले भने, “पति चाहिँ केही महिनाअघि मजदुरीका लागि त्यहाँ गएका थिए। पत्नी र छोरा गएको त एक महिना पनि भएको छैन होला। जेठो छोरो पनि उनीहरूसँग शिमलामै थिए तर उनी बाँचेछन्।”

मृतकका जेठा छोरा भने काम गर्न अर्को स्थानमा गएको र तीन जनालाई भने बसेकै स्थानमा पहिरोले पुरेको हिमाचलमा रहेका उनीहरूका आफन्तले बीबीसीलाई बताए।

शिमलामै रहेका मृतकका एक आफन्त श्री कुमार गिरीले भने, “उहाँहरू तीन जना बसेको कोठालाई नै पहिरोले पुरेछ, हामीले माटो पन्छाएर उहाँहरूको लास निकालेको हो।”

“अब हामी उहाँहरूको शवलाई नेपाल लैजाने तयारीमा जुटेका छौँ,” मङ्गलवार दिउँसो उनले भने।

उनका अनुसार शवहरू नेपाल ल्याउनका लागि रकम अभाव भएपछि शिमलास्थित नेपाली मजदुरहरूले पैसा उठाएर शव नेपाल पठाउने व्यवस्था गरेका हुन्।

“अहिलेसम्म दूतावासबाट हामीलाई फोन पनि आएको छैन, कुनै खोजखबर गरेको थाहा छैन। हामीले दु:ख गरेर शव लैजाने व्यवस्था गर्दै छौँ,” उनले भने।

भारतमा बाढीपहिरो

उत्तर भारतमा परेको अविरल वर्षाले जनधनको क्षति भएको जनाएको छ।

लगातारको वर्षाका कारण दिल्ली, हिमाचल, उत्तराखण्ड, पञ्जाब, हरियाणा, जम्मू–कश्मीर र राजस्थानका कैयौँ स्थान जलमग्न भएका छन्।

अविरल वर्षा र पहिरोका कारण अहिलेसम्म हिमाचलमा मात्र १७ जनाको ज्यान गइसकेको छ।

वर्षाका कारण निम्तिएको विपद्‌ प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्री तथा अधिकारीसँग कुरा गरेको र अवस्थाबारे जानकारी लिएको बताएका छन्।

भारतीय मौसम विभागले केही राज्यमा सतर्कता अपनाउन चेतावनी पनि जारी गरेको छ।

भारतको राजधानी दिल्ली तथा आसपासका कतिपय विद्यालय सोमवार बन्द गरिएको थियो।

राजधानी दिल्लीका कतिपय क्षेत्र पनि डुबानमा परेका छन्।

यमुना नदीले खतराको तह नाघेको छ भने सम्भावित डुबान क्षेत्रबाट हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

४० वर्षयताकै अधिक वर्षा

मनसुन सुरु भएसँगै दिल्लीमा पछिल्ला ४० वर्षयताकै सबैभन्दा धेरै पानी परेको मौसम विभागका अधिकारीहरूले बताएका छन्।

एउटा प्रक्षेपणअनुसार दिल्लीमा एक दिनमा आठदेखि नौ मिलिमिटर वर्षा हुन्छ। तर पछिल्ला दुई दिनमा १५३ मिलिमिटर वर्षा भएको थियो।

त्यो दिल्लीको औसत वर्षाभन्दा १,००० भन्दा बढी हो।

आगामी दिनहरूमा अर्थात् जुलाई १५-१६ मा दिल्लीमा थप पानी पर्ने र त्यसबेला औसत ३० देखि ४० मिलि मिटरसम्म हुन सक्ने प्रक्षेपण गरिएको छ।

भारतमा नेपाली नागरिक

भारतका विभिन्न राज्यहरूमा नेपालीहरूले विभिन्न क्षेत्रमा काम गर्ने गरेका छन्।

नेपाल र भारतबीच खुला सीमा हुनुका साथै एक अर्काले दुवै देशका नागरिकलाई आफ्नै नागरिकसरह काम गर्न अनुमति दिने भएकाले भारतमा नेपालीको ठूलो उपस्थिति छ।

भारतका विभिन्न राज्यमा नेपालीहरू सुरक्षागार्ड, निर्माण, होटल तथा रेस्टुराँ, पसलहरू तथा विभिन्न उद्योगमा पनि कार्यरत रहेका छन्।

तर हिमाचल, कश्मीर तथा उत्तराखण्ड लगायतका राज्यहरूमा कृषिको काममा पनि धेरै नेपाली जाने गरेको जानकारहरू बताउँछन्।

हिमाचलमा पहिरोमा ज्यान गुमाउनेहरू पनि कृषि क्षेत्रमै काम गर्न गएको उनीहरूका आफन्तहरूले बताएका छन्।

तर उक्त राज्यमा नेपाली कामदारको सङ्ख्या कति छ भन्ने यकिन विवरण पाउन सहज नभएको दूतावासका अधिकारी तथा भारतमा रहेका नेपालीहरूको भनाइ छ।

उक्त राज्यमा हजारौंको सङ्ख्यामा नेपाली रहेका छन् भने भारत भरि लाखौँको सङ्ख्यामा नेपाली रहेको बताइन्छ।

यद्यपि भारतमा रहेका नेपालीहरूको सङ्ख्याबारे प्राप्त विवरणमा एकरूपता छैन।

बीबीसी

Tags: