post-slider post-slider

जातीय विभेदको अभियोगमा वडाध्यक्षलाई साढे चार महिना कैद

Image
A A

काठमाडौं- पोखरा महानगरपालिकाका एक जना वडाध्यक्ष जातीय विभेदको अभियोगमा दोषी ठहर भएका छन्।

पोखरा महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष भरतबहादुर अधिकारी जातीय विभेदको अभियोगमा दोषी ठहर भएका हुन्।

अधिकारीमाथि आफ्नै वडाका वडा सदस्यलाई जातीय विभेद गरेको आरोप लागेको थियो।

जिल्ला अदालत कास्कीले बिहीबार अधिकारीलाई साढे ४ महिना कैद र ७५ हजार रूपैयाँ जरिवानको फैसला गरेको हो।

न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले यस्तो फैसला गरेको हो।

पीडित दलित महिला वडा सदस्य मैया नेपालीलाई अधिकारीले १० हजार रूपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसलामा उल्लेख छ।

आफ्नै वडाध्यक्ष जातीय विभेदजन्य गालीगलैजामा उत्रिएपछि महिला सदस्य नेपालीले कानुनी उपचार खोजेकी थिइन्।

वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै उनले जिल्ला प्रहरी कास्कीमा २०७९ पुस २४ मा जाहेरी दर्ता गराएकी थिइन्।

२६ पुसमा पक्राउ परेका अधिकारी ९ माघमा १ लाख ५० हजार धरौटीमा छुटेका थिए।

अदालतले अधिकारीलाई जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ बमोजिम सजाय तोकेको हो।

यो ऐनमा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था छ।

सार्वजनिक पद धारण गरेका व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था छ। 

कसुरदारले पीडितलाई क्षतिपूर्तिसमेत भराउनुपर्छ।

 

Tags: