post-slider post-slider

विमानस्थल भन्सार कार्यालयका कर्मचारीले मागे सामूहिक सरूवा

Image
A A

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत १३७ जना कर्मचारीले सामूहिक सरूवाको माग गरेका छन्।

सामूहिक सरूवाको माग गर्दै उनीहरूले भन्सार विभागका महानिर्देशकलाई पत्र पठाएका हुन्।

सरूवा माग्नेहरूमा भन्सार कार्यालयका २८ अधिकृतसहितका कर्मचारीहरू रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने वातावरण नभएको उनीहरूको भनाइ छ।

६० किलो सुन भन्सार छलेर जाँचपास भएको घटनापछि विभिन्न निकायबाट गरिएका अनुसन्धान र छानबिनका बहानामा आफूहरूलाई विना कारण दुःख दिएको, मानसिक रूपमा क्षतविक्षत बनाउने कार्यले कार्यालयमा कामकाज गर्न कठिनाइ भएको उनीहरूले बताएका छन्।

कर्मचारीहरूमाथि अनावश्यक धरपकड गर्ने, प्रमाणविना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाणविनै पक्राउ गरी दुःख दिने नियत देखिएको बताउँदै उनीहरूले कार्यालयमा उपस्थित भइ तोकिएको जिम्मेवारी पूरा गर्न मनोवैज्ञानिक त्रास उत्पन्न भएको जिकिर गरेका छन्।

‘...घटनामा दोषी जो कोहीलाई कानुनबमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो द्विमत रहेन। तर कर्तव्यपालनको सिलसिलामा खटिएका कर्मचारीहरूमाथि अनावश्यक रूपमा धरपकड हुँदा कार्यालयमा उपस्थित भइ तोकिएको जिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरूमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ,’ विभागका महानिर्देशकलाई पठाएको पत्रमा भनिएको छ।

विनाकारण भोग्नुपरेको मानसिक तनावका कारण घर परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको उनीहरूले बताएका छन्।

‘...तमाम परिस्थितिका बाबजुद कार्यालयमा नियमित रूपमा उपस्थित भइ कामकाज गर्ने मनोविज्ञान तथा वातावरण नरहेको हुँदा यस भन्सार कार्यालयबाट सामूहिक सरूवा गरिदनहुन श्रीमान्समक्ष अनुरोध गर्दछौं,’ पत्रमा उल्लेख छ।
आफूहरूले उठाएको मागको उचित सम्बोधन नभएमा कार्यालयको नियमित कार्यसम्पादन प्रभावित हुने अवस्था आउनसक्ने कर्मचारीहरूले चेतावनी दिएका छन्।

सुन तस्करी प्रकरणलाई लिएर हालसालै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूमाथि छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

 

Tags: