नेपालमा तीन दिनसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं- आगामी तीन दिनसम्म नेपालका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसार काठमाडौं उपत्यका र अन्य स्थानहरूमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना छ।
'यतिबेला मनसुन पूर्ण रूपमा सक्रिय नभएकाले अत्यधिक भारी वर्षा हुने सम्भावना कम छ। तर, बाढी र पहिरोजस्ता मनसुनजन्य विपदको घटनाबाट सतर्क रहनुपर्छ,' अर्यालले भने।
सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा, र कोशी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
साथै, कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।