post-slider post-slider

संसद महासचिव : संसदलाई एमालेको ‘पकड’ मा राख्न ‘अप्रत्याशित’ राजीनामा, ‘हतारो’ सिफारिस!

Image
A A

काठमाडौं- संघीय संसदका महासचिव भरतराज गौतमले आइतबार एक्कासी पदबाट राजीनामा दिए।

कार्यकाल समाप्त हुनुअगावै पदबाट गौतमले दिएको राजीनामा आश्चर्यचकित बनाउने थियो।

घरायसी कारणले पदबाट राजीनामा दिएको उनले राजीनमापत्रमा उल्लेख गरेका छन्।

उनी २०७७ वैशाख २२ गते संसदको महासचिवमा नियुक्त भएका थिए।

संवैधानिक व्यवस्थाअनुसार संघीय संसदका महासचिवले राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुपर्ने हुन्छ।

गौतमको राजीनमा राष्ट्रपति कार्यालयमा अझै विचाराधीन अवस्थामै छ।

तर उनको राजीनामा स्वीकृत नहुँदै ‘महासचिवको पद रिक्त’ भएको भन्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद्मप्रसाद पाण्डेलाई नियुक्तिको लागि सिफारिस गरे।

संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद सचिवालयको महासचिवको नियुक्ति हुने व्यवस्था छ।

बुधबार सभामुख घिमिरेले पाण्डेलाई संसद सचिवालयको कार्यवाहक महासचिवमा नियुक्त गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमको राजीनामा हालसम्म स्वीकृत नगरेकाले पाण्डे कार्यवाहक महासचिवको रूपमा नियुक्त भएका हुन्।

पाण्डे कार्यवाहकमा नियुक्त भए पनि उनको सिफारिस र गौतमको राजीनामा यतिबेला विवादमा परेको छ।

प्रक्रिया नपु¥याइ पाण्डेलाई महासचिवमा सिफारिस गरिएको भन्दै राष्ट्रपति कार्यालयले अध्ययनका क्रममा राखिदिएको छ।

सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले महासचिवमा पाण्डेलाई सिफारिस गरेको पत्र राष्ट्रपति पौडेललाई बुझाएका थिए।

गौतमले राजीनामा गरेको सूचना जारी नहुँदै संसद सचिवालयले नयाँ सिफारिस गरेकोमा राष्ट्रपति कार्यालयले प्रश्न उठाएको छ।

‘सिफारिस गरिएका व्यक्ति हाल पदमै रहेको र त्यसलाई नियमित प्रक्रियामा पठाउनुको सट्टा सभामुख र अध्यक्षले नै बोकेर आएको’ भन्दै राष्ट्रपति कार्यालयले अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको स्रोतको भनाइ छ।

‘महासचिवमा नियुक्त हुन सचिवबाट राजीनामा दिनुपर्ने हुन्छ, यो बढुवा हुने पद होइन, अघिल्लो महासचिवको राजीनामा स्वीकृतसमेत भइसकेको छैन। राजीनामा स्वीकृत नहुँदै अर्को महासचिव सिफारिस भएकाले प्रक्रिया नमिलेजस्तो देखियो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो।

महासचिव गौतमले राजीनामा दिएको र उक्त पद रिक्त भएको जानकारी राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई दिन नपाउँदै सभामुख र अध्यक्ष नयाँ महासचिवको नाम बोकेर शीतल निवास पुग्नुको हतारोलाई लिएर पनि प्रश्न उठेका छन्।

गौतमको राजीनामा स्वीकृत नहुँदै सिफारिस भएका प्रतिनिधिसभाका सचिव पाण्डेलाई कार्यवाहक महासचिव नियुक्त गरिएको हो।

‘स्वीकृत नभए पनि राजीनामा त आएको हो। यस्तो अवस्थामा वरिष्ठताका आधारमा कार्यवाहकको जिम्मेवारी दिनु कुनै ठूलो विषय भएन। तर, यो सबै प्रक्रिया अहिले अध्ययनकै क्रममा रहेको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो।

संसद दिवस, प्रशासनिक काम, लोकसेवा आयोगबाट संसदका लागि आएका कर्मचारीको नियुक्तिलगायतका काम गर्नका लागि पनि महासचिव चाहिने र नियुक्त हुन नसकेको अवस्थामा पाण्डेलाई कार्यवाहक तोकिएको बताइएको छ।

पाण्डेलाई महासचिव बनाउन किन हतारो?

प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार सभामुखले प्रतिनिधिसभा र राष्ट्रियसभा वा सचिवालय सचिवमध्येबाट एक जनालाई महासचिवको काम गर्नका लागि राष्ट्रियसभा अध्यक्षसँगको परामर्शमा तोक्नसक्ने व्यवस्था छ।

वरीयतामा सबैभन्दा माथि हुने भएकाले प्रतिनिधिसभा सचिवलाई नै कार्यवाहक महासचिवको जिम्मेवारी दिने अभ्यास संसदमा छ।

२०८१ मदौ ३ मा कार्यकाल सकिन लागेका महासचिव गौतमलाई राजीनमा गराएर पाण्डेको नाम सिफारिस भएको हो।

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेका २० स्थानमा पदपूर्तिका लागि निर्वाचनको कार्यक्रम सार्वजनिक गरी तयारी अगाडि बढाइरहेकै बेला गौतमको राजीनामाले सत्ता गठबन्धनका दलहरूलाई सशंकित बनाएको छ।

नेकपा एमालेबाट २०७४ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएर अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका अध्यक्ष तिमिल्सिनाको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदैछ।

माघमा २० जना सदस्यका लागि हुने निर्वाचनपछि राष्ट्रियसभाको गणित फेरिने लगभग निश्चित छ। 

राष्ट्रियसभाको नयाँ बनाबटका आधारमा चयन हुने नयाँ अध्यक्ष र प्रतिनिधिसभाका सभामुखले गौतमको कार्यकालपश्चात गर्न सक्ने महासचिव नियुक्तिको सिफारिसमा आफू अनुकूल नहुने देखेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको रणनीतिक योजनामा महासचिव गौतमलाई कार्यकाल सकिनुअगावै राजीनामा दिन लगाएर सभामुख र अध्यक्षले आफूअनुकूलको महासचिवलाई सिफारिस गरेको आशंका सत्ता गठबन्धनका नेताहरूले गरेका छन्।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महासचिव गौतमको राजीनामा र तत्कालै सभामुख र अध्यक्षबाट भएको नयाँ महासचिव सिफारिसलाई गम्भीर रूपमा लिएको बताएका छन्।

महासचिवको राजीनामा र नयाँ सिफारिसका गतिविधि प्रथम दृष्टिमा हेदा अप्रत्याशित, अस्वभाविक र असामयिक भएको उनको भनाइ छ।

निर्वाचनपछि एमालेले राष्ट्रियसभा अध्यक्ष गुमाउने पक्का भएकाले आफूनिकट व्यक्तिलाई संसद महासचिवमा हतारहतार नियुक्तिका लागि सिफारिस गरिएको सत्ता गठबन्धनका नेताहरूको आशंका छ।

महासचिवमा सिफारिस पाण्डे र राजीनामा दिएका गौतम एमालेनिकट मानिन्छन्।

गौतमको नियुक्ति हुँदा पनि भएको थियो विवाद

तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले त्यो बेलाका महासचिव मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि गोपालनाथ योगीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए।

२०७६ चैत २ गतेबाट भट्टराईले अवकाश पाएपछि संसदको महासचिव पद खाली थियो।

त्यही दिन योगीले कार्यवाहक महासचिवको जिम्मेवारी पाएका थिए।

यद्यपि महासचिव हुन उनको उमेर पुगिसकेको थिए। संघीय संसदको महासचिव हुन ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ।

उमेर नै नपुगेका व्यक्तिलाई सभामुख सापकोटाले कार्यवाहक तोकेको भन्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले असन्तुष्टि जनाएका थिए।

४५ वर्ष पुग्न करिब १० महिनामात्र बाँकी रहेका योगीलाई त्यतिबेलासम्म कार्यवाहक बनाउने र त्यसपछि महासचिव बनाउने सभामुख सापकोटाले चाहेका थिए।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपाको सरकार थियो। सभामुख सापकोटा त्यतिबेला पूर्वमाओवादी र तिमिल्सिना पूर्वएमाले थिए।

महासचिवमा सभामुखले योगीलाई चाहेका थिए भने तिमिल्सिनाले गौतमलाई। पूर्वमाओवादीले योगीलाई नै निरन्तरता दिन चाहेको थियो। तर, पूर्वएमालेले निरन्तर दबाब दिएपछि सापकोटा पछि हटेका थिए।

सापकोटा पछि हटेपछि गौतम संसदको महासचिवमा नियुक्त भएका थिए।

 

 

Tags: