post-slider post-slider

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए सुवास

Image
A A

काठमाडौं- संविधान बनाउने संविधानसभाको दुईपटक नेतृत्व गरेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ।

नेम्वाङ सोमबार राति बालुवाटारस्थित आफ्नो निजी निवासको शौचालयमा अचेत अवस्थामा भेटिएका थिए। उनलाई राति करिब १ : ५० बजे महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो।

शिक्षण अस्पतालको आकस्मिक कक्ष पु¥याइँदा नेम्वाङ जीवित रहेको कुनै संकेत नदेखिएको एक चिकित्सकले बताए।

यद्यपि मुटुको धडकन फर्काउने प्रयासस्वरूप सिपिआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरिएको थियो।

मुटुको चाल फर्काउने प्रयास असफल भएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
त्रिवि शिक्षण अस्पतालबाट उनको शवलाई च्यासलस्थित पार्टी कार्यालयमा लगेर बुधबारसम्म श्रद्धाञ्जलीका लागि राखिने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको राजनकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
संविधान निर्माण प्रक्रियामा नेम्वाङले खेलेको उच्च भूमिकालाई कदर गर्दै राजकीय सम्मान दिने मन्त्रिपरिषद बैठकले गरेको हो।
त्यस्तै नेम्वाङको अन्त्येष्टि हुने दिन शोक बिदा दिने निर्णय पनि सरकारले गरेको छ।
उनी अहिलेको प्रतिनिधिसभा सदस्य पनि थिए। नेम्वाङ इलाम–२ बाट २०५६ सालदेखि लगातार चुनाव जित्दै आइरहेका थिए।
नेम्वाङका छोराहरू विदेशमा रहेकाले उनीहरू फर्किएपछि परिवारको सल्लाहअनुसार अन्त्येष्टि गरिने एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिए।

उनका अनुसार नेम्वाङको अन्तिम संस्कार संभवतः बिहीबार हुनेछ।

एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङलाई अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिन्थ्यो।

गत फागुनमा भएको राष्ट्रपति निर्वाचनमा ओलीले नेम्वाङलाई पार्टीको तर्फबाट उम्मेदवार बनाएका थिए। तर, उनी नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए।

उनको निधनप्रति राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले शोक व्यक्त गरेका छन्। 

प्रधानमन्त्री पुष्कमल दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरू एमाले पार्टी कार्यालय च्यासल पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

राजनीतिकर्मी र विभिन्न पेसा व्यवसायका व्यक्तिहरू सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली दिने क्रम जारी छ।

प्रधानममन्त्री प्रचण्डले नेम्वाङको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।

एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा भावुक धारणा व्यक्त गरेका छन्।

‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्षमात्र होइन, हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पु¥याउनुभएको योगदान सँधै सम्झिरहने छौं,’ ओलीले लेखेका छन्।

त्यस्तै पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले पनि नेम्वाङको निधनले आफूलाई स्तब्ध बनाएको जनाएका छन्।

‘राजनीतिमा रिक्तता’

एमालेका उपमहासचिव ज्ञवालीले नेम्वाङको निधनले पार्टीलाई मात्रै क्षति पु¥याएको नभइ संविधानअनुसार मुलुक चलोस् भन्ने चाहना राख्ने प्रत्येक व्यक्तिका लागि उनको निधन पीडादायी बनेको बताए।

‘उहाँलाई गुमाउँदा नेपालको राजनीतिमा निकै ठूलो रिक्तता भएको महसुस गरेका छौं। त्यो तहको व्यक्तित्व निर्माणका लागि राष्ट्रले दशकौं खर्च गर्नुपर्छ,’ उनले भने।

सरल जीवनशैली अपनाउने नेम्वाङ पार्टीभित्र मात्रै नभइ अन्य दलका नेताका लागि पनि रूचाइने व्यक्ति थिए।

कानु विषय प्राध्यापन र वकालपछि सक्रिय राजनीतिमा लाग्दै संसद प्रवेश गरेको नम्वाङ संसद, कार्यपालिका र न्यायपालिका तीनवटै निकायबारे दख्खल राख्थे।

उनी वरिष्ठ अधिवक्ता पनि थिए। नेपाल बार एसोसिएसनको महासचिव हुँदा पनि उनले संस्थालाई बलियो रूपमा अगाडि बढाएको कानुनका जानकारहरू बताउँछन्।

दुईपटक संविधानसभाको अध्यक्षता गरिसकेका नेम्वाङसँग प्रवल व्यवस्थापकीय क्षमता रहेको थियो।

‘विभिन्न दल र विज्ञका विचार सुनेर त्यसलाई व्यवस्थापन गर्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्न उहाँ कुशल हुनुहुन्थ्यो,’ माओवादी नेता खिमलाल देवकोटा बताउँछन्।

विचार नगरी नबोल्ने र प्रतिक्रिया दिनुभन्दा सुन्न बढी रूचाउने स्वभावका थिए, नेम्वाङ।

कानुनको पृष्ठभूमि भएका कारण शक्ति सन्तुलन र शक्ति पृथककीकरणको सिद्धान्तअनुसार संसद, न्यायपालिका र कार्यपालिकाबारे धारणा राख्ने व्यक्तिका रूपमा उनलाई सम्झिनुपर्ने नेताहरू बताउँछन्।

अतुलनीय योगदान

कानुनी पृष्ठभूमि भएकी कांग्रेस नेतृ तथा पूर्वसांसद पुष्पा भुसालका अनुसार नेम्वाङको भूमिका खासगरी समावेशिताको सिद्धान्त पालना गर्ने गराउने विषयमा थियो।

नेम्वाङको सरल जीवनशैलीबाट प्रभावित रहेकी भुसाल विशेषतः परिवर्तनका मुद्दामा आफ्नो दललाई मात्रै नभइ सबै दलका फरक मतलाई मिलाएर लैजान सक्ने क्षमता भएको नेताका रूपमा नेम्वाङलाई सम्झिन्छन्।

पार्टीले मात्रै नभइ राष्ट्रले नै नेम्वाङलाई पत्याएको भन्दै उनी राजनीतिक विचारधाराभन्दा माथि गएर लोकतन्त्रलाई सुदृढ बनाउन स्रोत व्यक्तिका रूपमा चिनिएको भुसालको भनाइ छ।

संसद विघटनमा ‘विरोधाभास’

संविधानसभा अध्यक्षको जिम्मेवारी वहन गरिरहँदा नेम्वाङले संविधान निर्माणमा ठूला भूमिका निर्वाह गरे। संविधान जारी गर्नुमा ठूलो भूमिका खेलेकै कारण उनी सँधै अविस्मरणीय रहने छन्।

संविधान जारी गर्दा संविधान प्राविधिक रूपमा लेखेरमात्रै नपुग्ने र त्यसको कार्यान्वयनका लागि राजनीतिक पार्टीले आचरण र व्यवहार पूरा गर्नुपर्नेमा नेम्वाङको प्रष्ट धारणा थियो।

तर, खासगरी पछिल्लोपटक एमाले नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेको विषय निकै विवादित बन्यो। त्यो विघटनका बेला नेम्वाङले पार्टी नेतृत्वको पक्षमा उभिए। विघटनको समर्थनमा आफ्ना धारणाहरू राखे।

संविधान जारी गर्दा ‘अब संसद विघटनको बाटो बन्द भयो’ भन्ने अभिव्यक्ति नेम्वाङले दिएका थिए।

उनकै पार्टी सरकारमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा नेम्वाङमाथि उनको विगतको अभिव्यक्तिका कारण प्रश्न गरियो।

संसद विघटनको सवालमा नेम्वाङ नाजबाफ भए। विगतमा आफूले दिएको अभिव्यक्तिको पक्षमा अडान लिएर उभिन सकेनन्। जसका कारण उनी विवादमा मुछिए।

पछिल्लो समय एमालेले सुन तस्करी प्रकरणलाई लिएर संसद अवरोध गरिरहँदा पनि ‘संसद चलाउन विपक्षी दलको पनि भूमिका हुन्छ’ भन्ने अभिव्यक्ति नेम्वाङले दिएका थिए। 

तर, उनकै पार्टीले पटकपटक संसद चल्न दिएन।

स्ववियु सभापतिदेखि राष्ट्रपतिका उम्मेदवारसम्म

नेम्वाङले चार कार्यकाल संसदको नेतृत्व गरेका थिए।

गत फागुनमा भएको राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भए।

सभामुखका रूपमा उनको पहिलो कार्यकाल २०६३ वैशाखदेखि २०६३ को माघसम्म थियो। दोस्रो कार्यकाल २०६३ माघदेखि २०६५ जेठसम्म रहेको थियो।

त्यो बेला उनी पुनस्थार्पित संसदको सभामुख बनेका थिए। तेस्रो र चौथो कार्यकाल उनले संविधानसभा अध्यक्षका रूपमा संसदको नेतृत्व गरेका थिए।

यो भूमिकामा उनी २०६५ साल साउनदेखि २०६९ जेठसम्म र २०७० फागुनदेखि २०७५ असोजसम्म रहे।

२०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहँदा उनी कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री पनि बनेका थिए।

उनी सामान्य प्रशासन र स्थानीय विकासमन्त्री र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पनि बने।

त्यसअघि २०३४ सालदेखि नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका थिए।

नेपालमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएपछि उनले प्रतिस्पर्धा गरेका सबै मुख्य निर्वाच्न जितेका छन्। केबल राष्ट्रपति निर्वाचनबाहेक।

२०४८ यता उनी दुईपटक राष्ट्रियसभामा निर्वाचित भ एभने २०५६ साल यताका पाँचवटै चुनावमा निर्वाचित भए।

२०५६ सालमा उनी संसदको लेखा समितिको सभापतिमा निर्वाचित भएका थिए।

गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी इलाम–२ बाट निर्वाचित भए।

नेम्वाङको राजनीतिक यात्रा विद्यार्थी युनियनबाट सुरू भएको थियो। उनी २०२९ सालमा अनेरास्ववियुबाट इलाम महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए।

 

 

Tags: