post-slider post-slider

‘कोसी घटनाको जिम्मेवारी सभापतिले लिनुपर्छ’

Image
A A

काठमाडौं- पार्टी र गठबन्धनको निर्णयविरूद्ध कोसी प्रदेसमा नेकपा एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेपछि नेपाली कांग्रेसभित्र उत्पन्न भएको तरंग अझै साम्य भएको छैन।

आफ्नो ‘टिम’ इतरबाट दाबी हुन थालेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विवाद पन्छाउन गठबन्धनको बैठकमा माओवादी केन्द्रलाई कोसीको मुख्यमन्त्री सुम्पिन तयार भए।

देउवाको यो निर्णयप्रति असन्तुष्टि जनाउँदै नेता शेखर कोइरालाले विद्रोह गरे। र, आफूनिकट कार्कीलाई मुख्यमन्त्रीमा अघि सारे।

एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की यही बुधबार प्रदेससभाबाट विश्वासको मत लिने तयारीमा जुटेका छन्।

राजनीतिमा कुनै ठूलो हेरफेर नभए अहिलेकै अवस्थामा उनले सहजै विश्वासको मत पाउने देखिन्छ।

विद्रोह गरेर मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले पदभार सम्हालिसक्दा पनि कांग्रेसमा उत्पन्न तरंग शान्त हुनसकेको छैन।

कोसीमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर कांग्रेसका नेताहरूले आ–आफ्नो तर्क दिइरहेका छन्। यो घटनालाई लिएर सभापति देउवा पनि ‘अशान्त’ देखिएका छन्।

उनले कोसी घटनाको विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन्।

यो विषयमा छलफल गर्न देउवाले महामन्त्रीद्वयलाई आफ्नो निवास धुम्बराहीमा बोलाएका थिए।

महामन्त्रीद्वय थापा र शर्माले कोसी प्रदेस सरकार गठनको घटनाको जिम्मेवारी सभापतिले लिनुपर्ने बताएका छन्।

भेटका क्रममा आफूहरूले कोसीमा यो परिस्थिति देखापर्नुमा सबैभन्दा ठूलो कमजोरी सभापतिबाटै भएको बताएको महामन्त्री शर्माले पत्रकारहरूलाई बताए।

‘अहिले जे भएको छ, त्यो घटनामा सभापतिले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ। किन यो प्रकारको दुर्घटना भयो, यसको सबैभन्दा ठूलो जिम्मेवारी, अंशियारी सभापतिले लिनुपर्छ,’ शर्माले भने।

कोसीमा सरकार गठनको विषयमा सभापति देउवाले कोसीबाटै प्रतिनिधित्व गर्ने आफू, सहमहामन्त्री भिष्मराज आङदेम्बे, नेता विजयकुमार गच्छदार, नारायण खड्कालगायत कोही पनि नेतासँग सल्लाह नै नगरेको शर्माको भनाइ छ।

महामन्त्री शर्माले नेता शेखर कोइरालाले पनि कोसी घटनाको विषयमा जवाफ दिनुपर्ने बताए।

‘सभापतिले संस्था चलाउने कुरामा फरक विचारलाई सुन्ने र समन्वय गर्ने कुरा नगर्ने र फरक विचार समूहका नेताले पनि आफ्नै समूहभित्र पनि छलफल नगर्ने परिपाटी देखिएयो,’ शर्माले भने।

 

Tags: