post-slider post-slider

एक करोड फिरौती माग्ने तीन जना पक्राउ

Image
A A

काठमाडौं- एक करोड फिरौती मागेको आरोपमा प्रहरीले मकवानपुरबाट तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।

तीनै जनाले गत मंसिर १९ गते राति हेटौंडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए।

प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूले पौडेलको घरमा गोली प्रहारसमेत गरेका थिए।

फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन्।

पक्राउ परेका तीनै जना आरोपितलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

प्रहरी उपरीक्षक रिजालका अनुसार पक्राउ परेका समूहले सूर्यप्रसादको घरमा पाँच राउन्ड गोली प्रहार गरेको थियो।

घटनाको मुख्य योजनाकार निश्चल रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उनीहरूले चलाएको गोलीबाट मानवीय क्षति नभएको प्रहरीले बताएको छ। फिरौती रकम माग्न तर्साउने उद्देश्यले उनीहरूले सूर्यप्रसादको घरमा गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले निश्चलको साथबाट पेस्तोलसहित २० थान गोली बरामद गरेको छ।

आरोपितहरू हेटौंडा–४ मा कोठा भाडा लिएर लागुऔषको कारोबारसमेत गर्ने गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट दुईवटा मोटरसाइकल, दुई ग्राम खैरो हेरोइन, पाँच थान मोबाइल र ५० हजार नगद बरामद गरेको छ।

पक्राउ परेका तीनै जनामाथि प्रहरीले ज्यानमार्ने उद्योग, लागुऔषध कारोबार र हातहतियारसम्बन्धी मुद्दाअन्तर्गत अनुसन्धान अगाडि बढाएको छ।

 

Tags: