post-slider post-slider

कोल्ड ड्रिंक्सले माछामासु पचाउन सघाउँछ?

Image
A A

काठमाडौं । अहिले गाउँगाउँमा माछा मासुको साथमा कोला डिं«क्स खाए पचाउँछ भनेर कोल्ड ड्रिंक्स खाने गरेको पाइन्छ। 

तर यथार्थ निकै फरक छ । 

कोल्ड ड्रिंक्सलाई कार्बोनेट ड्रिंक्सको रुपमा लिनुपर्ने पोषणबिद् जया प्रधानको भनाइ छ। 

उनका अनुसार कोल्ड ड्रिंक्सलाई क्यालोरीको रुपमा लिइन्छ।

२५० मिलिलिटरको कोल्ड ड्रिंक्समा २०० क्योलोरी हुन्छ। त्यसबाहेक केहि पाइँदैन। 

माछा मासु पचाउन कोल्डडिं«क्सले मदत गर्छ भन्ने भ्रममात्र रहेको उनले बताइन्।

‘यसले पचाउनमा सघाउँदैन, थप क्यालोरी दिन्छ। माछा मासुमा भएको प्रोटिन पाचन गर्नका लागी शरीरभित्र अर्का इन्जाइमहरु सेपरेसन हुनुपर्ने हुन्छ’ उनले भनिन्, ‘त्यो सेपरेसन भएपछिमात्र माछा मासु पाचन हुन्छ र शोषण हुन्छ। त्यो शोषण गराउने इन्जाइमहरु कोल्डडिंक्समा छैन।’ 

घरमा पाइने दही मोही धेरै गुणकारी हुने उनले बताइन्। 

१०० मिली कोल्ड डिं«क्स र दही मोही लिएर तुलना गरे दही बढी लाभदायक हुने उनको भनाइ छ।

दहीमा प्रोटिन, क्याल्सियम र प्रोबायोटिक पाइने भएकाले पाचनलाई राम्रो गर्ने उनको मत छ। 

‘कोल्ड डिं«क्समा क्यालोरीमात्र हुन्छ। शरीरमा बढी क्यालोरी हुने बित्तिकै शरीरमा जम्मा हुन्छ,’ उनले भनिन्, ‘जुन शरीरबाट बाहिर पठाउन सकिएन अथवा प्रयोग गर्न सकिएन भने मोटोपना हुन सक्छ। त्यसकारण कोल्ड ड्रिंक्सलाई परहेज नै गर्छौं।’

बालबालिकालाई कोल्ड ड्रिंक्सको सट्टा सिजनको  फलपफूल खुवाउन सके त्यो धेरै लाभदायक हुने उनको मत छ।

उनका अनुसार बालबालिकाले जुस खान खोजे त्यसकै जुस बनाएर दिन सकिन्छ। त्यो फ्रेस फुड पनि हुन्छ। जसले क्यालोरी मिनरल्समात्र दिँदैन त्यसबाट भिटामिन पनि पाउन सकिन्छ। 

पोषण्विद् प्रधानसँग जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती पनि सहमत छिन्। आधुनिक जीवनशैलीको नक्कल गरी धेरै मानिसहरु स्वस्थकर तथा पोषिला दही मोहीको सट्टा  बजारमा रहेका हानिकारक पेय पदार्थ पिउने गरेको उनले बताइन्। 

ग्रामीण क्षेत्रमा समेत दुध, दही जस्ता पोषिला पेय पदार्थ बेचेर विभिन्न ब्राण्डका पेय पदार्थ पिउने गरिएको उनले बताइन्। कोल्डडिं«क्सले मोही, सर्वत जस्ता पेय पदार्थलाई विस्थापित गरेको उनको भनाइ छ।  

अति गुलिया र रसायन मिसिएका कोल्डड्रिंक्सले दाँत, पेट, हाड जोर्नीलगायत शरीरका अन्य अङ्गहरुमा विभिन्न प्रकारका समस्याहरु उत्पन्न गराउने उनले बताइन्।

यस्ता पेय पिउनाले मोटोपन लगायत अनेक किसिमका रोगहरु उत्पन्न गर्ने उनले जानकारी दिइन्। 

ठोस खाद्य वस्तु नखाई खाजा जस्तै पेय पदार्थ पिउँदा धेरै मानिसहरु कुपोषणले ग्रस्त भएको उनले बताइन्।  

डा. उप्रेतीका अनुसार कोल्ड ड्रिंक्समा पाइने हानिकारक तत्वहरु यसप्रकार छन् ।  

क्याफिन 

क्याफिन केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउने र लत लगाउने तत्व हो। यसले कृत्रिम रुपमा शरीरलाई उत्तेजित गराउँछ र हृदयगती बढाउँछ। 

उत्तेजित अवस्थामा स्मरण शक्ति बढेको, स्फूर्ति बढेको र थकाइ मेटिएको अनुभव हुन्छ। तर यो क्षणीक हुन्छ।

शारीरिक कसरतपछि चिसो पेय पदार्थ पिउँदा शरीरमा क्यालसियम र पोटासियमको कमी हुन्छ। जसका कारण मांशपेशीहरु सुन्निन सक्छन् र कसरतपछि यथास्थितिमा फर्कन धेरै समय लाग्छ। 

चिसो पेय पदार्थमा हुने क्याफिन र चिनी दुवैले क्याल्सियम नष्ट गर्ने र हाड खियाउने गर्दछन्। 

अम्लहरु 

चिसो पेयलाई ताजा राख्न र स्वादिलो बनाउन साइटिक एसिड, फोस्फरिक एसिड र कहिलेकाहीँ म्यालिक र टारटारिक अम्लहरु राख्ने गरिन्छ। 

यी अम्लहरुले झोललाई सड्नबाट रोक्दछन् र  मिठासलाई सन्तुलनमा राख्न मद्दत्त गर्छ। अम्लहरुको कारणले नै चिसो पेय पिउँदा तिर्खा मेटिएको महशुस हुन्छ। 

चिसो पेय पिउँदा माथि तैरिएका फोका तथा फिँजले नै आनन्द दिन्छ। यी फोका र फिँज फोस्फोरिक अम्ल र कार्वनडाइअक्साइडबीचको प्रतिक्रिया भएर बन्दछन्। 

यी तत्वहरुका कारणले पेट पोल्ने र घाउ हुने गर्दछ। फोस्फोरिक अम्ललाई क्रोम धातुको खिया र मोटरको ब्याट्री सफा गर्न प्रयोग गरिन्छ।

यसको आधारमा यो अम्ल निकै पोल्ने खालको छ भन्ने स्पष्ट हुन्छ। धातुको खिया पखाल्ने अम्लले हाम्रो शरीरको मासुलाई सजिलै पोल्न सक्दछ । 

सन् १९९३ मा बेलायतमा गरिएको बाल दन्त स्वास्थ्य सर्वेक्षणमा नियमित रुपमा चिसो पेयसेवन गर्ने २० प्रतिशत बालबालिकाको दन्तपालिस पखालिएको देखियो।

दन्तपालिस पाखालिनु भनेको दाँत सिरिङ्ग हुने या कँुडिएको अवस्था हो। चिनी भएको अम्लीय चिसो पेय पिउनासाथ दाँत माझ्नाले दाँतको भित्री भाग पनि कोतरिन्छ। 

वाष्पित पानी 

चिसो पेय भनेको बास्ना, गुलियो स्वादलगायत फिँजहरु आउने ग्यासहरु राखिएको पानी हो। चिसो पेय बढी पिउनेको पिसावबाट बढी मात्रामा खनिज तत्वहरु जानसक्छ।

शरीरबाट जति बढी खनिजको निष्कासन हुन्छ त्यती नै बढी हाड फुसफुसे भई कमजोर हुने (Osteoporosis), हड्डी वाथ सूजन हुने (Osteoarthritis), थाइराइड ग्रन्थीका कमजोरी (Hypothyroidism), मुटुको धमनीका रोगहरु  (Coroanary Artery Disease), उच्च रक्तचाप र सामान्यतया प्रौढावस्थामा देखिने गडबढी जस्ता स्वास्थ्य समस्याको जोखिम सामना गर्नुपर्ने हुन्छ। 

कृत्रिम बास्ना 

चिसो पेयबाट आउने बास्नाहरु सबै कृत्रिम हुन्छन्। टारटजिन नामक रङ्गले सुन्तले पहेँलो रंग दिन्छ। यो रङ्गले छालामा डाबर उठ्ने, नाकबाट पानी बग्ने र आँखा रातो हुने जस्ता एलर्जी हुनसक्छ। यसलाई क्यान्सरको सम्भावित कारक पनि मानिएको छ। 

धेरैजसो चिसो पेयहरुमा सोडियम पनि राखिएको हुन्छ। डाइट सोडामा सोडियमको परिमाण ज्यादा हुन्छ। १८० मिलि डाइट सोडामा ३१ मिलीग्राम सोडियमको परिमाण भेटिएको छ। सोडियम बढी हुँदा शरीरमा अनेक प्रकारका स्वास्थ्य समस्या हुन्छन्। 

चिनी 

चिनी सबै चिसो पेयहरुमा पाईने एक प्रमुख तत्व हो। यसमा धेरैमात्रामा फ्रक्टोज वर्गको चिनी वा त्यस्तै विभिन्न स्वादहरु मिश्रित तरल पदार्थहरु राखिएको हुन्छ।

अधिकांश चिसो पेयमा ४ देखि १५ चिया चम्चासम्म चिनी घोलिएको हुन्छ। एक चियाचम्चा चिनीले १६ क्यालोरी शक्ति पैदा गर्छ। १५ चम्चा चिनीमा २ सय ४० क्यालोरी अर्थात ५ चम्चा नौनी खाए बराबरको क्यालोरी उत्पन्न हुन्छ। बढी क्यालोरीयुक्त खाद्य वस्तुले शरीरको तौल बृद्धि गर्छ।

  

 

Tags: