post-slider post-slider

सहकारी ठगी छानबिन समितिमा विपक्षी दलहरू एकजुट

Image
A A

काठमाडौं- प्रतिनिधिसभामा विपक्षी दलहरूले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय छनबिन समितिको मागमा एकमत हुने निर्णय गरेका छन्।

संसद् भवन नयाँबानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले कांग्रेसको मागमा एकजुट हुने निर्णय गरेको हो। त्यस्तै बैठकले सभामुखलाई हिजोको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठकमा जनता समाजवादी पार्टी, नेपालका नेताहरु पनि सहभागी भएका थिए।

त्यस्तै बैठकमा जसपा, नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादव र नेता राजकिशोर यादव सहभागी थिए।

त्यस्तै राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही उपस्थित छन् भने लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी रहेका थिए। 

 विपक्षी दलहरुको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न दिनुपर्ने धारणा राखेको छ ।

प्रतिपक्षी दलहरूको बैठकमा संसदीय छानबिन समिति बन्नुपर्नेमा पूर्ण समर्थन रहेको बताउँदै संसदमा गृहमन्त्रीले आफ्ना कुरा राख्नुपर्ने बताएको सांसद ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन्।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपाका प्रमुख सचेतक शाहीले भने, ‘राप्रपाको तर्फबाट गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने माग राखेका छौँ। गृहमन्त्रीले बोल्न पाउनुपर्छ। छानबिन समिति बन्नुपर्ने कुरामा हामी पछि हट्दैनौँ ।’

गृहमन्त्रीले आफ्नो धारणा राखेपछि चित्त नबुझ्दा त्यसको प्रतिवाद गर्न सकिने उनले बताए ।

हिजोको बैठकमा कांग्रेस र एमाले सांसदहरूबीच हात हालाहालको स्थिति भएपछि आज कांग्रेस संसदीय दलको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा नेपाललगायतका नेतासँग छलफल गरेका थिए।

छलफलमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा सबै प्रतिपक्षी दलको एकमत रहेको बनाएका छन्। 

Tags: