post-slider post-slider

सर्राफ हत्याका मुख्य योजनाकार महिला!

Image
A A

काठमाडौं- बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश सर्राफको हत्याको आरोपमा पक्राउ परेका आरोपीलाई प्रहरीले पत्ररकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ।

सर्राफमाथि सोमबार दिउँसो कलैया मुख्य बजारमा गोली प्रहार भएको थियो। पाँचवटा गोली लागेको उनको उपचारको क्रममा वीरगञ्जस्थित वयोधा अस्पतालमा मृत्यु भएको थियो।

दुईवटा मोटरसाइल चढेर चार जनाको समूहमा आएका व्यक्तिहरूले सर्राफमाथि गोली प्रहार गरेका थिए।

सर्राफ हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक महिलासहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। 

पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक हुन्।

पक्राउ परेकी महिला सर्राफको विद्यालयका पूर्वकर्मचारी (लेखापाल) रहेको बताइएको छ।

सर्राफको हत्यामा पक्राउ परेकी महिला नै मुख्य योजनाकार भएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

बारका एसपी सुरेश काफ्लेले विभिन्न कोणबाट अनुसन्धान हुँदा महिला नै हत्याको मुख्य योजनाकार भएको पाइएको बताए।

‘१० जनालाई पक्राउ गरेर अनुसन्धान सुरू भएको छ, जसमध्ये ६ जना घटनामा संलग्न रहेको पाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा महिला नै मुख्य योजनाकार देखिएको छ,’ उनले भने।

हत्याको कारणबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने उनले बताए।

प्रहरीका अनुसार यसअघि साउनमा पनि बारामै उनीमाथि गोली प्रहारको योजना बनेको थियो। त्योबेला उनी भाग्न सफल भएको अहिले अनुसन्धानको क्रममा खुलेको छ।

स्रोतका अनुसार पक्राउ परेकी महिला प्रिन्सिपल सर्राफकी प्रेमिका रहेकी छन्।

प्रेमिकासँग खटपट सुरू भएपछि उनको हत्याको योजना बुनिएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ।

विवाहित सर्राफको श्रीमती, एक छोरा र एक छोरी छन्।

‘पक्राउ परेका आरोपीहरूको बयानअनुसार सर्राफ लामो समयदेखि एक महिलासँग गहिरो सम्बन्धमा रहेको देखियो। यही सम्बन्धमा खटपट सुरू भएपछि सर्राफको हत्याको योजना बुनेको देखिन्छ,’ स्रोतले भन्यो।

 

 

Tags: