'नवउदारवादले त्रिविलाई बिगार्यो'
त्रिभुवन विश्वविद्यालय (त्रिवि) कुनै बेला समाजवादको प्रयोगशाला जस्तै थियो। त्रिविमा न्युनतम शुल्कमा पढाइन्थ्यो। यो समाजको तल्लो वर्गको पहुँचमा थियो।
विद्यार्थी संगठनहरुले देशमा कस्तो व्यवस्था चाहिन्छ। कस्तो प्रजातन्त्र र कस्तो समाज चाहिन्छ भन्ने आन्दोलन र विमर्श गर्थे।
त्यस्तो अवस्थामा रहेको त्रिविमा अहिले शैक्षिक क्रियाकलाप ओरालो लागिरहेको छ। त्रिवि आज यस्तो किन छ भन्नेमा केहि सैद्धान्तिक प्रस्तावनाहरू छन्।
ऐतिहासिक भैतिकवादी दृष्टिकोण अनुसार हेर्ने हो भने शिक्षा समाजको अर्थव्यवस्था जस्तो हुन्छ वा बनाउन कोसिस गरिन्छ सोहि अनुसारको शिक्षा प्रणाली हुन्छ वा निर्माण गर्ने कोसिस गरिन्छ।
१९९० पछाडि विश्वभरी उदाइरहेको नव उदारवादी र पुँजीवादी व्यवस्थालाई जस्तो मानिस (शिक्षित र तालिम प्राप्त) चाहिन्थ्यो। त्यस्तो मानिस निर्माण गर्ने दिसामा समग्र शिक्षा प्रणाली लाग्यो।
परीक्षा नियन्त्रण कार्यलयमा अल्छी कर्मचारी छन्। त्यसैले रिजल्ट भएन भनेर बुझियो भने यो संरचना नबुझेको हो। विश्वविद्यालयको विद्यार्थीले त्यसरी बुझे विश्वविद्यालयको काम हुँदैन।
विश्वविद्यालय समाजको संरचनाको भित्रपट्टी गएर बुझ्ने कोसिस गर्नुपर्छ। एकातिर अर्थ व्यवस्था नव उदारवादी निमार्ण गर्ने दिसामा जाने। अर्कोतिर शिक्षा जनमुखी, जिम्मेवार, समाजवाद उन्मुख, जन उत्तरदायी हुने भन्ने विरोधाभास कहिले समाधान हुदैँन।
शिक्षा सुधार गर्ने कोसिस गरे पनि त्यो अभियान होइन्। समाजको संरचना बदल्ने अभियानमा शिक्षा यस्तो हुनुपर्छ भन्ने हो। नव उदारवादी पुजिँबादी समाज खोजेको हो भने यही शिक्षा राम्रो शिक्षा हो। यहाँ असमान शिक्षा छ।
शैक्षिक संस्था एउटा निजी अर्को सार्वजानिक छन्। सार्वजानिक शिक्षाको हालत बनाइएको छ।
नव उदारवादी व्यवस्थामा सार्वजानिक शिक्षाको हालत नबनाई निजी शिक्षाको प्रवर्धन हुँदैन। त्रिविलाई अहिले सुधार गर्ने हो भने नेपालका निजी कलेजको हालत के हुन्छ।
तिनको माफियागिरीमा पनि त्रिवि र अन्य विश्वविद्यालयलाई सुधार हुन दिइँदैन। यी सुधार हुँदा यिनको वरिपरि दोकान खोलेर बसेका निजी कलेज, निजी सम्बन्धन प्राप्त गर्न खोजेकाहरूको दोकान बन्द हुन्छ। पुँजीवादको काम बन्द हुन्छ।
नव उदारवादी सोच हुँदासम्म त्रिवि सुध्रिँदैन। अर्थव्यवस्थामा नव उदारवादी हुने तर त्रिविलाई भयंकर बनाउँछु भनेर सम्भव छैन।
पुँजीवादी व्यवस्थाले संसारमा असमान भुखण्डहरुको निर्माण गर्छ। एउटा भूखण्डलाई धनी र विकसित बनाउनुपर्छ।
अर्को गरिब, अविकसित वा असभ्य बनाउँदै जानुपर्छ। त्यो पुँजीवादको शाश्वत चरित्र हो। त्यस्ता असमान भुखण्डहरु निर्माण नगरी पुँजीवाद एक सेकेण्ड टिक्दैन।
त्यसैले अहिले चीन र अमेरिकाको विरोधाभासमा अहिले यो चिज छ। चीनले संसारभर आफ्ना संरचनालाई सस्तो मुल्यमा निःशुल्क निर्माण गरेर असमानता घटाउने अभियान राखेको छ। तर अमेरिकनहरू पुँजीवादी मोडमा विश्वास गर्ने हुनाले असमानतालाई कायम राखेमात्र अमेरिकी हेजेमोनीलाई स्थापित गर्न सकिन्छ भन्ने अफिसियल डकुमेन्टमा छ।
असमानताको पुनः उत्पादन नगरिकन पुँजीवादी व्यवस्था टिक्दैन। अहिलेको हाम्रो शिक्षाले एउटा भिआइपी वर्ग बनाएको छ। अर्को तल्लो वर्गमा विवश हुने बाध्य हुने अरब मलेसिया जाने वर्ग निर्माण गरेको छ।
त्यो हामीले प्रवेश गर्न चाहेको समाज नव उदारवादी समाज भएकाले हो। नव उदारवादी समाजमा जानुपर्ने हुनाले हामीलाई असमान शिक्षा नै चाहिन्छ। एकातिर एकदम राम्रो शिक्षा अर्कोतिर मजदुर मात्र उत्पादन गर्ने शिक्षा। त्यसकारण त्रिविको शिक्षा कमजोर गराइन्छ।
सरकारले किन ध्यान दिदैन? सरकार स्वयं नव उदारवादी लाइनमा रहुन्जेल त्रिविको शिक्षा सुध्रँदैन। त्रिवि सुधार्न नव सिद्धान्त र अभ्यासलाई पार गर्नुपर्छ।
जुन देशमा सरकारको लगानी राम्रो छ त्यो देशमा विश्विद्यालय राम्रो छ। चीनले विश्वका विद्यालयलाई उछिनेर अगाडि किन गइरहेको छ? केरलाको विश्वविद्यालय कसरी संसारको सबैभन्दा उन्नत विश्वविद्यालयभित्र पर्छ भनेर हेरेका छौं?
संसारमा केरलाको शिक्षा युरोपको तुलनीय शिक्षा छ। यो युनाइटेड नेशसनको रिर्पोटमा छ। अनि हाम्रो मोडल हार्वड किन?
हार्वड भनेको आजको समयमा सबैभन्दा बढी पुँजीवादी चेतना भएका मानिसहरु निर्माण गर्ने थलो हो।
नवउदारवादी मोडलको विश्वविद्यालय खोज्ने हो भने हार्वड मोडेल हो। तर हार्वडमा स्नातक पढ्ने विद्यार्थीले कति शुल्क तिर्नुपर्छ, सरकारबाट कति अनुदान लिन्छ हेरे छक्क परिन्छ।
त्यसकारण राज्य र समाजले लगानी नगरी कुनै पनि विश्वविद्यालय सुध्रिँदैन। लगानी गर्न नव उदारवादी मोडलबाट समाजवादी मोडल तर्फ जानै पर्छ।
(डा. प्रसाई खुल्ला विश्व विद्यालयका डिन हुन्। डा. प्रसाईले ‘नेपालमा विश्वविद्यालयको अवस्था, सम्भावना र चुनौती’ विषयमा भएको विचार गोष्ठीमा राखेको धारणाको सम्पादित अंश)