post-slider post-slider

जनमत पार्टीलाई सरकारमा सामेल गराउन गठबन्धनमा सहमती

Image
A A

काठमाडौं - सत्ता गठबन्धन जनमत पार्टीलाई सरकारमा समेट्न तयार भएको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई सरकारमा सामेल गराउने समझदारी गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले जनमत पार्टीलाई सरकारमा ल्याउने सहमति भएको जानकारी दिए।

यद्यपि यो पार्टीलाई कुन मन्त्रालय दिने भन्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्णय गर्ने उनले बताए।

‘जनमत सरकारमा आउँछ भने सरकारमा समेट्ने समझदारी भयो। कुन मन्त्रालय दिने प्रधानमन्त्रीले मिलाउनु हुनेछ,’ पाण्डेले भने,‘सरकारको नेतृत्व प्रचण्ड कमरेडले गर्नु भएकाले मुख्य नेतृत्वले नै थोरै कम्प्रोमाइज गर्नुपर्ने जस्तो छ।’

जनमत पार्टी सरकारमा आएमा माओवादीकै कुनै मन्त्रीलाई फिर्ता बोलाएर ल्याउने तयारी गरिएको छ।

आइतबार जनमत पार्टीका अध्यक्ष सिके राउतसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन प्रस्ताव गरेका थिए।

भेटका क्रममा माओवादीकै कुनै मन्त्रीलाई फिर्ता बोलाएर भए पनि जनमत पार्टीलाई सरकारमा व्यवस्थापन गरिने वचन राउतलाई दिएका थिए।

जनमत पार्टीका अध्यक्ष राउतले प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेको आयोमेलसँग भनेका थिए।

राउतसँग भेटवार्ता भएलगत्तै सत्ता गठबन्धनको बैठक बसेर राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउन समझदारी बनेको हो।

जनमत पार्टीले उद्योग र कृषि मन्त्रालयमा दाबी गर्दै आएको छ। 

 

Tags: