post-slider post-slider

सीता दाहालको निधन पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति : माओवादी केन्द्र

Image
A A

काठमाडौं- नेकपा माओवादी केन्द्रले  प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसँगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ ।

सीता दाहालको बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बुधबार पार्टीका महासचिव देवप्रसाद गुरुङले शोक वक्तव्य जारी गर्दै सीता दाहालको निधनले सिङ्गो पार्टी स्तब्ध भएको जनाए।

शोक वक्तव्यमा भनिएको छ, ‘कमरेड सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको छ । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण उहाँका लागि विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत चिरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।’

वि.सं. २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन्। पार्टीको कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिएकी दाहाल देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी थिइन्।

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन्। पछिल्लो समय उनी पार्किन्सनलगायत रोगबाट पीडित थिइन्।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष कमरेड प्रचण्ड लगायत परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा हार्दिक अपिल गरिएको शोक वक्तव्यमा लेखिएको छ।

स्वर्गीय दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ।

Tags: