post-slider post-slider

देशका अधिकांश स्थानमा आज वर्षा हुने

Image
A A

काठमाडौं- मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) रहेकाले आज पनि देशका धेरै स्थानमा वर्षा हुनेछ। बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेकाले मनसुनको गतिविधि सक्रिय भएको हो। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर पूर्णतया बदली रहेको छ। सबै प्रदेशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कोसी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। 

भारी र अति भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले जनाएको छ।

Tags: