post-slider post-slider

‘शासन फेरियो, फेरिएन परम्परा’

Image
A A

काठमाडौं- नेपालमा २५० वर्ष पुरानो शाहवंशीय राजतन्त्रात्मक व्यवस्था अन्त्य भयो। साढे दुई शताब्दीसम्म राजनीतिक दल र नेपाली नागरिकले गरेको परिणास्वरूप राजतन्त्रात्मक शासनको अन्त्य भएर गणतन्त्र स्थापना भयो।

तर, गणतन्त्र स्थापनापछि पनि राजतन्त्रकालको प्रचलनले परम्पराको रूपमा दसैंमा निरन्तरता पाइरहेको छ।

त्यो प्रचलन हो– विजया दशमीका दिन राष्ट्रपति कार्यालय र पूर्वराजाको निवासमा सर्वसाधारणका लागि टीका प्रदान गर्ने अभ्यास।

राजाहरूले विजया दशमीमा उच्च पदस्थ सरकारी कर्मचारीहरूलगायत सर्वसाधारणलाई टीका लगाइदिने चलन रहेकोमा दरबाबरबाट बाहिरिएका पूर्वराजाले इच्छुकहरूका निम्ति यो अभ्यासलाई निरन्तरता दिने गरेका छन्।

यसको जानकारी उनको सचिवालयले सूचना प्रकाशित गरेर दिँदै आएको छ।

अर्कोतर्फ राजतन्त्र अन्त्यपछि स्थापना भएको नयाँ गणतान्त्रिक शासन व्यवस्थामा संवैधानिक राष्ट्र प्रमुखको भूमिकामा रहेका राष्ट्रपतिहरूले पनि त्यस्तो अभ्यासलाई निरन्तरता दिँदै आएका छन्।

राष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारीजस्तै गत फागुनमा राष्ट्रपति बनेका रामचन्द्र पौडेलले पनि यो अभ्यासलाई निरन्तरता दिए।

समाजवाद उन्मुख र धर्म निरपेक्ष संविधान अवलम्बन गरेको देशका राष्ट्रपतिले ‘राजाहरूकै शैलीमा’ सर्वसाधारणलाई टीका लगाइदिने प्रचलनप्रति आलोचनात्मक टिप्पणीहरू पनि व्यक्त हुने गरेका छन्।

यस्तो मान्यता फेरिनुपर्ने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार रहिसकेका सुशील प्याकुरेल बताउँछन्।

‘म यस्तो मान्यता फेरिनुपर्छ भन्ने मान्छे हो,’ प्याकुरेल भन्छन्।

आफूले सल्लाहकार पदबाट राजीनामा दिनुअघिका तीनवटै दसैैंमा राष्ट्रपतिबाट टीका नलगाएको उनको भनाइ छ।

‘मैले यस्तो कुराको विरोध गरेको हो। राष्ट्रपतिको सहयोगी टोलीका लागि कार्यतालिका नै बनाएर टीका लगाउन बोलाउने कुरा मलाई मन परेन। म जानकारी दिएरै टीका लगाउन गइनँ,’ उनी भन्छन्।

नेपालमा राजाहरूले सर्वसाधारणका लागि विजया दशमीको दिन टीका लगाइदिने परम्परा भए पनि राजतन्त्र अन्त्य भएपछि पनि पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वधारणका लागि टीका लगाइदिने अभ्यासलाई दिएको निरन्तरताप्रति पनि प्रश्न उठ्ने गरेको छ।

प्याकुरेल भन्छन्,‘पूर्वराजालाई पनि आफू राजा नै छु भन्ने परिरहेको छ।’

कोभिड महामारी र डेंगु सक्रमणका कारण विगत तीन वर्षका दसैंमा पूर्वराजा शाहको निवासमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम भएन।

तीन वर्षपछि पूर्वराजा शाहले यो वर्ष फेरि सर्वसाधारणलाई दसैंको टीका लगाए।

पूर्वराजाले सर्वसधारणलाई टीका लगाइदिने चलन कायम राख्नुको कारणबारे उनका सचिव फणीराज पाठक भन्छन्,‘इतिहासदेखि सबै राजाहरूले टीका लगाउँदै आएको कुरालाई उहाँले पनि निरन्तरता दिनुभएको हो।’

राष्ट्रपति र पूर्वराजाकहाँ दसैंको टीका लगाउन जाने मानिसहरू फरक फरक राजनीतिक आस्थाका हुने गरेको जानकारहरू बताउँछन्।

यद्यपि यतिबेला पूर्वराजा र राष्ट्रपतिकहाँ गएर दसैंको टीका लगाउनेहरूको संख्यामा निकै कमी आएको छ।

पञ्चायतकालमा राजाकहाँ गएर टीका लगाउने भीड हुन्थ्यो।

त्यो भीड अहिले देखिँदैन। त्यस्तै अवस्था राष्ट्रपतिसँग टीका लगाउनको पनि देखिन्छ।

सर्वसाधारणले चाहिँ राष्ट्रपति र पूर्वराजाबाट टीका लगाउने परम्परालाई अस्वीकार गरेको भाव पनि यसबाट देखिएको जानकारहरू बताउँछन्।

 

Tags: