अजङ्गका भिराला पहाड : लाङटाङ यात्रा
काठमाडौं - केही दिनको लामो बिदा भयो कि पदयात्रामा निस्किहाल्ने हाम्रो टिमको बानी थियो। विश्व हेर्न नपाए पनि आफ्नो देश त घुम्नैपर्छ भन्ने सोच सानैदेखि थियो। हुन त विश्वका एक दर्जन बढी देशको भ्रमण गरेको छु। तर, सहरी क्षेत्रमा मात्रै। आफ्नै देशको मनाङ-मुस्ताङ घुमेपछि भने मलाई कम्तीमा वर्षको एकपटक आफ्नै देशको नयाँ ठाउँ घुम्ने हुटहुटी लाग्थ्यो। त्यसैले, लामो बिदा या चाडपर्वको समयममा कतै घुमौं भन्ने योजना मनमनै बनाउँदै थिएँ।
तिहारको टिका सकिएसँगै घरमा एक्लै बसिरहको थिए। विवेक भान्जाको फोन आयो- मामा लाङटाङ पदयात्रामा जाने?
मैले ‘नजाने केही तयारी छैन’ भनें।
भान्जाले ‘केही तयारी चाहिँदैन, जुत्ता-लुगा भए भइहाल्छ’ भने। मैले ‘जुत्ता छैन’ भनेपछि ‘अहिले पदयात्रालाई लक्षित गरेर गोल्डस्टार कम्पनीले नयाँ जुत्ता बजारमा ल्याएको छ, सस्तो पनि छ त्यो भए हुन्छ’ भनें। राति अबेर भइसकेको थियो। गोल्डस्टारको शोरुममा फोन गरियो। खुल्ला रहेछ। त्यसपछि २,३०० मा जुत्ता किनेर इसेवामार्फत रसुवाको स्याफ्रुबेसीसम्मको बस टिकट काटेर कात्तिक १९ गते बिहान लाङटाङ पदयात्रामा जाने कुरा भयो। घरमा कसैलाई भनेको थिइनँ। घरबाट सजिलै अनुमति पाएपछि अरू के नै चाहियो र!
विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ। नेपालको पदयात्रा मार्गमा यो तेस्रो पदयात्रा गन्तव्यका रूपमा चिनिएको छ। रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना भएको हो। यो १,७१० वर्ग किमि क्षेत्रमा फैलिएको छ भने ४१० वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा समेटिएको छ। ४६ प्रजातिका स्तनधारी, ३१५ प्रजातिका चरा, ११ प्रजातिका घस्रिने जनावर, ३० प्रजातिका माछा, १० प्रजातिका माकुरा र ५८ प्रजातिका पुतलीलगायत हजारभन्दा बढी प्रजातिका वनस्पति पाइन्छ। विश्वमै दुर्लभ रेडपाण्डा, हिमचितुवा, बँदेल, हिमालयन कालो भालु, घोरल, लंगुर, आसामी बाँदर, सेता बाँदर, झारल, कस्तुरी मृगलगायत वन्यजन्तु पाइन्छन्। त्यसकारण पनि ती सबैको अवलोकलन वन्यजन्तु र वातावरणबारे जानकारी पाउने उद्देश्यले मन प्रफुल्तित भएको थियो।
हुन त पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो। आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्न विवेक भान्जासहित हामी चार जनाको टोली धादिङको गल्छी भएर अगाडि बढ्यौ। यात्राको क्रममा बाटो कतै ढलान, कतै कच्ची, कतै पक्की। तन-मन सिरिङ्ग हुने बाटो। काठमाडौंबाट हिँडेको करिब ६ घण्टामा धुन्चे (१९६० मि) पुग्यौं। धुन्चेबाट करिब सवा घन्टामा हामी स्याफ्रुबेसी (१५०३ मि) पुग्यौं। पानी परिरहेकोले प्लास्टिकको छाता ओडेर स्याफ्रुवेसीमा दुनट र चिया खाएर हिँड्यौ। बाटोमा लाङटाङ खोला जलविद्युत आयोजनाले २० मेगाबाटको विद्युतको लागि बाटो बनाएको रहेछ। मोटर बाटो भए पनि मोटर चाहिँ नचल्ने। आयोजनाका गाडीहरू मात्र चल्ने रहेछन्। बास बस्न हामीलाई ‘ब्याम्वो’ पुग्नु थियो। त्यसैले, स्याफ्रुबेसीमा कत्ति पनि अलमल गरेनौं। भोटेकोशीमाथिको झोलुङ्गे पुल र लाङटाङ खोलाको पुल तरेर अगाडि बढ्यौं।
लाङटाङ खोलासँगै बाटो हिँड्छ, बाटोसँगै खोला, हामी उसैलाई पछ्याउँदै, उसकै संगीत सुन्दै हिँड्छौं। बुद्धमन्त्र लेखिएका लुङ्ता फहराइरहेको पहिरो भन्ने ठाउँमा पुग्यौं। पहिरोमा जाँदा-आउँदा पदयात्रीहरू तथा सहयोगीहरू सुस्ताउने र चिया खाजा-खाना खाने ठाउँ रहेछ। हाइड्रोपावर कटेपछि होटलका आँगन हुँदै हामी चरक्क चर्केको घामसँगै सुनका धर्काधर्की र चाँदीले लेपन गरेका बाटाभरिका ढुंगामा आफ्ना पैताला राख्दै वनैवनको बाटो ब्याम्बो (१९७० मि) पुग्यौं। यो क्षेत्र रेडपाण्डाको बासस्थान पनि रहेछ। यहाँ तीन वटा होटल थिए शेर्पा, ब्याम्बो र टिवेटन। हामीले टिवेटनमा रात बितायौं। यही होटलमा खाना र बाँस बस्यौं प्रतिव्यत्ति १५०० तिर्यौं। बिजुली बत्ती छैन, सोलारको धिपधिप उज्यालोमा बस्न पर्यो।
स्याफ्रुबाट यत्तिनजिक पनि सञ्चार सुविधा टेलिफोन सेवा छैन। टावरै देखाउँदैन, डाटा चल्दैन। मोबाइल चार्ज गर्न कठिन छ। त्यही होटलको साहुजीलाई अनुरोध गरेर वाइफाइ चाहिँ चलाउने सुविधा एकछिन पाएर घरपरिवारसँग कुराकानी भयो। राम्चे (२२२३ मिटर) भीरको एउटा ढुङ्गामा टाँगिएको फोटो देखेर हाम्रा हिँडाइ टक्क रोकिए। फोटोले २०७२ सालको महाभूकम्पको त्रासदी सम्झायो। लाङटाङ पदयात्रामा निस्केका इजरायली युवाको भूकम्पसँगै ओइरिएको पहिरोमा ढुङ्गाले किचेर यहीँ मृत्यु भएको रहेछ। उनकै सम्झनामा सो फोटो राखिएको रहेछ। ठाउँ-ठाउँमा भेट्टाइने पहेंलपुर ऐंसलुको स्वाद लिँदै अघि बढ्छौं।
दुई वटा डाँडाका बीचमा अलिकति आफ्नो अनुहार देखाएर मुसुक्क हाँसेको ‘चदाङ पिक’ देख्दा रमायौं। झण्डै तीन घण्टाको हिँडाइपछि हामी ब्याम्बोबाट लामा होटल (२४१०मि) पुग्यौं। यहाँ १०-१२ वटा होटल रहेछन्। पहिले लामा भन्ने व्यक्तिले यता चौंरी पालेर खर्क बनाएर होटल चलाएकाले यस ठाउँलाई उनकै सम्झनामा ‘लामा होटल’ भनिएको रहेछ। त्यसबाट पनि हामी अगाडि बढ्यौं। रिभर साइड (२७६९ मि.) पुगेर खाना खायौं।
अघाएको पेट बोकेर हिँड्दा हामी घोडा तवेला पुगियो। केही समय आराम गरेपछि हामी अगाडि बढ्यौं। झोलामा दिदीले हालिदिएको भाइमसला खाँदै हाम्रो यात्रा अगाडि बढ्यो। ठाडै उकालो आयो, गलेको जिउलाई झन् गलायो। उकाली ओराली गर्दै थाङसाप भिलेज (३२०० मि) पुग्यौं। यहाँ दुई-तीन वटा होटल रहेछन्। हामी तिब्बत होटलमा बास बस्यौं। भोलिपल्टको ब्रेकफास्टपछि फेरि हाम्रो यात्रा निरन्तर अगाडि बढ्यो। चिसो सिरेटो चल्न सुरू गर्यो।
लाङटाङ पुग्नुअघि म त बेस्सरी थाकें। हिँड्नै गाह्रो हुन थाल्यो। पदयत्रा छोडेर फर्कियौं कि जस्तो पनि लाग्यो। मलाई चिसोले समातेको रहेछ। डाँडामा रहेको होटलवालाले टोपी लाउन, लुगा थप्न सल्लाह दिए। मैले चिसिएको जिउमा लुगा थपेँ, ज्याकेट लगाएँ। त्सपछि अलि आरामको महसुस भयो। त्यहीबेला इनर्जी जुस पनि खाएँ। एक गिलास जुसको तीन सय रुपैयाँ पर्दोरहेछ।
लाङटाङ पुग्नुअघिको एउटा बस्ती ढुङ्गै-ढुङ्गाले पुरिएको रहेछ। २०७२ सालको भूकम्पले क्षति गरेको रहेछ। भूकम्पसँगै आएको ठूलो हिउँ पहिरोले सिजनको बेला भएकाले धेरै जनधनको नोक्सानी भएको रहेछ। लामो यात्रापछि लाङटाङ भिलेज (३४७५ मि)पुग्यौं।
विशेष खालको फलामे चिम्नी चुल्होमा दाउरा हालेर आगो सल्काएपछि कोठा रनक्क तात्यो। त्यसकै वरिपरि बसेर तातो भात खायौं। तरकारी भने जुन होटलमा पनि आलुकै पाइने, वन साग अलिअलि मिसाएको र स्कुसको तरकारी मात्रै पाइने। सबै होटलमा सुकेको याक चौंरीको मासु मात्र पाइने रहेछ।
यात्रामा भेटिएका सबैले बोन पो धर्म मान्ने यताकाले आफ्नो डाइनिङ हलको एउटा छेउमा बुद्धधर्म अनुसारको मन्दिर स्थापना गरेका हुँदा रहेछन। सबै ठाउँमा दलाई लामाको फोटो पनि देखिन्थे। क्यानजिन गुम्पा (३८५० मि.) तिर निरन्तर अगाडि बढ्यौं। खुट्टा दुखेर हिँड्न नसक्ने अवस्था थियो। तथापि, विस्तारै यात्रालाई निरन्तरता दिइरह्यौं। बाटामा पानीबाट चलाइएको माने, छोर्तेन, लुङदार र साना गुम्बा देख्दा मनै आनन्दित भयो। ढुङ्गै-ढुङ्गाको अजङ्गका भिराला पहाड, ढुङ्गाकै लामा लामा छोर्तेनहरू, ढुङ्गै छापेका बाटाहरू, ढुङ्गैले ठडिएका घर र गुम्बाहरू र बाटाभरि फुलेका फूलहरूले हाम्रो मन प्रफुल्लित थियो।
लाङटाङ र क्यानजिनको बीचमा पर्ने दुई वटा मुन्दुम (३२१३ मि) र सिन्दुम (३५५५ मि) लुङ्ता फहराइरहेका भ्याली काटेर सानो उकालो चढ्नेवित्तिकै क्यानजिनका होटलहरू र छेउका चौंरी खर्क छ्याङ्ग देखिए। क्यानजिन रि (४३५०) चढ्न तयारी थियो तर मलाई सन्चो नभएर मैले चाहिँ चढिनँ। यसरी लाङटाङको यात्रा सफलता पूर्व पूरा गरी क्यानजिनबाट हामी एकै दिनमा स्याफ्रुबेसी पुग्न सक्दैन्थ्यौं। बीचमा कहीँ न कहीँ बास बस्नै पर्ने थियो। हिजो-अस्ति हिँडेका बाटाहरूसँग फेरि पिरति गाँस्दै लामा होटलमै बास बसियो।
लामा होटलबाट हिँडेर बाटा, जङ्गल र लाङटाङ खोलासँग अन्तरङ्ग गर्दै स्याफ्रुबेसी आइपुग्यौं। स्याफ्रुबजार घुम्यौं। अविस्मरणीय लाङटाङ, क्यानजिन भ्याली र क्यानजिन रिको सम्झना बोकेर आठौं दिनको दिन काठमाडौं आइपुग्यौ। लाङटाङ पदयात्रामा बाटाभरि कहिले इजरायली, कहिले क्यानेडियन, न्यूजील्याण्डबासी, जापानी, भारतीय र इन्डोनेसियन, अझ बढी त इटालियन, कोरियान कोही एकल, कोही जोडी, कोही गाइड र सहयोगीका हिँडिरहेका भेटिन्थे। म सबैजसोलाई दुई हात जोडेर नमस्ते भन्थें। मुसुक्क हाँसेर उनीहरू पनि नमस्ते भन्थे।
दुःख त भयो, गाह्रो भयो तर घरै बसेको भए यो भू:स्वर्ग, यो हिमाली जनजीवन, यहाँको संस्कृति, यहाँको भू-बनोट, कहाँ देखिनु र कहाँ भोग्न पाउनु? बाटो सम्झिँदा कष्टकर लागे पनि यात्राको क्रममा नयाँ कुरा देख्न भोग्न र सिक्न पाउने हुनाले यात्रा सकिनेबित्तिकै मान्छेले आन्नदको अनुभूति गर्छ। जीवनमा एकपटक यात्रा गर्नैपर्ने गन्तव्य हो - लाङटाङ।