post-slider post-slider

राजविराजमा भोलि सार्वजनिक बिदा, दीपोत्वस मनाउन जनकपुरधाम उपमहानगरपालिकाको आग्रह

Image
A A

जनकपुरधाम- सप्तरीको राजविराज नगरपालिकाले सोमबार स्थानीय बिदा दिने निर्णय गरेको छ।

भारतको उत्तर प्रदेसको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन एवं प्राणप्रतिष्ठाको अवसरमा राजविराज नगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको हो।

पाँच वर्षको विवाद भारतको सर्वोच्च अदालतले सम्पादन गरे पश्चात अयोध्यामा निर्माण सुरू भएको राम मन्दिरको सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

राजविराज नगरपालिकाका कार्यबाहक नगर प्रमुख इसरत परविनले सूचना जारी गर्दै भगवान रामको प्राणप्रतिष्ठाका दिन मातहतको सबै निकायमा बिदा रहने जनाएका छन्।

त्यस्तै राम मन्दिर उद्घाटनाका दिन नगरपालिकाभित्र माछा, मासु, मदिरा बिक्रीवितरण बन्द हुने सूचनामा जनाइएको छ।

भगवान रामको प्राणप्रतिष्ठा हुने दिन सनातनी हिन्दू धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिकाभित्रको घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न समेत नगरपालिकाले आग्रह गरेको छ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले पनि अयोध्यामा राम मन्दिरको उद्घाटन एवं प्राणप्रतिष्ठाका दिन उपमहानगरपालिका क्षेत्रभित्र माछा, मासु, मदिरा पसलहरू बन्द गर्न आग्रह गरेको छ।

उपमहानगरपालिकाले आइतबार सूचना प्रकाशित गरेर यस्तो आग्रह गरेको हो।

अयोध्यामा भगवान रामललाको नवनिर्मित मन्दिरको प्राणप्रतिष्ठा तथा उद्घाटन सम्पूर्ण सनातनी हिन्दू धर्मवालम्बी तथा जगत जननी माता जानकीको जन्भूमि मिथिलावासीहरूका लागि अत्यन्तै हर्ष एवं आनन्दको क्षण भएको सूचनामा उल्लेख छ।

उपमहानगरपालिकाले प्राणप्रतिष्ठाका दिन आ–आफ्नो घर एवं पसलहरूमा दीप प्रज्वलन गरी दीपावली मनाइ नजिकै रहेको मठ मन्दिर, चोक चौराहालगायत जानकी मन्दिरमा हुने दीपोत्सव कार्यक्रममा सहभागी हुने नगरवासीलाई आग्रह गरेको छ।

 

Tags: