post-slider post-slider

‘नागरिकता कानुन कार्यान्वयनमा अवरोध भए आन्दोलन हुन्छ’

Image
A A

जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले नागरिकता विधेयक संविधान कार्यान्वयनसँग जोडिएको विषय भएको बताएका छन्।

जनकपुरधाममा आयोजित नेपाल मुस्लिम संघ धनुषाको तेस्रो जिल्ला अधिवेशनको उदघाटन कार्यक्रममा बोल्दै निधिले नागरिकता विधेयक संविधान कार्यान्वयनसँग जोडिएको विषय भएकाले न्यायपालिका पनि अवरोधक नबन्ने बताएका हुन्।

संविधान र संघीयताको कार्यान्वयनका विषयमा कोही बाधक बने कडा आन्दोलन हुने उनले चेतावनी दिए।

‘बुबाआमाको नागरिकता भएर पनि ठूलो संख्यामा युवाहरू नागरिकताविहीन भएर बस्नु परेको छ, संविधानको अवधारणविपरित नागरिकको भविष्यसँग खेलवाड गर्ने अधिकारी कोहीसँग छैन,’ निधिले भने,‘संविधानसम्मत प्रमाणीकरण भएको विधेयकमा हलो अड्काउने काम कहीँ कतैबाट हुनु कदापि उपयुक्त होइन।’

जेठ २६ गते सर्वोच्चले दुवै पक्षलाई बोलाएको बताउँदै उनले संविधानको मर्मअनुसार नै आएको नागरिकता कानुनको बाधक अदालत नबन्ने कांग्रेसलाई विश्वास रहेको उल्लेख गरे।

नागरिकता कानुन कार्यान्वयनमा अवरोध भए आन्दोलनका लागि तयारी अवस्थामा रहन उनले नेता कार्यककर्तालाई निर्देशन दिए।

आगामी पाँच वर्षका लागि वर्तमान गठबन्धनलाई निरन्तरता दिँदै अगामी चुनाव कांग्रेस एक्लैले लड्नुपर्ने पक्षमा आफू रहेको निधिले सुनाए।

नेता निधिले पहिलो कार्यकालमा प्रचण्ड, दोस्रो माधवकुमार नेपाल र तेस्रो कार्यकालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताए।

 

Tags: