post-slider post-slider

सर्लाहीको बरहथवा तनावग्रस्त, प्रहरीको गोली लागेर एकको मृत्यु

Image
A A

काठमाडौं- सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको विषयमा भइरहेको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ।

नगरपालिकाकी प्रमुख कल्पना कटुवालको घरमा प्रदर्शनकारीले तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै ज्यान गएको हो।

प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो।

उनको टाउकोमा गोली लागेको बताइएको छ।

बयलबास बजारबाट बरहथवा बजारतर्फ आउने क्रममा नेपाल विद्युत प्राधिकरण छेउमा रहेका साहलाई गोली लागेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

नगरपालिकास्थित नगर अस्पताललाई प्रदेस अस्पतालमा गाभ्ने कि नगाभ्ने विषयमा विवाद हुँदा तनाव सिर्जना भएको हो।

नगर अस्पताललाई प्रदेस अस्पतालमा हस्तान्तर गर्ने कि नगर्ने विषयमा विवाद हुँदै आएको थियो। विवाद समाधानका लागि नगरपालिकाले शुक्रबार सर्वदलीय बैठक बोलाएको थियो।

नगरपालिकाले सूचना जारी गरेर सर्वदलीय बैठक स्थगित गरेपछि विवाद उत्पन्न भएको हो।

अस्पतालको विषयलाई लिएर करिब दुई सातादेखि बरहथवा नगरपालिकाअगाडि नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा र बहुजन एकता पार्टीसहित पाँचदलीय गठबन्धनले आन्दोलन गर्दै आएको थियो।

१५ शय्याको नगर अस्पताललाई ५० शय्याको बनाउने सहमति गर्दै मधेस प्रदेसलाई हस्तान्तर गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएको नगर प्रमुख कटुवालले बताइन्।

सर्वदलीय बैठक बोलाइए पनि पाँच राजनीतिक दलहरूले संयुक्त विज्ञप्तिमार्फत बैठकलाई प्रभावित पार्न खोजेको उनको भनाइ।

बैठक बस्न नसकेपछि नगरपालिकाले सूचना जारी गरेर स्थगित गरेको कटुवालले बताइन्।

बैठक स्थगित भएपछि पाँच दलले बजार, सार्वजनिक यातायातलगायत सम्पूर्ण संघसंस्थाहरू बन्द गर्ने निर्णय गर्दै आन्दोलन सुरू गरेको थियो।

प्रमुख कटुवालले आन्दोलनकारीले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्नुका साथै आफ्नो घरमा तोडफोड र एउटा गाडीमा आगजनी गरेको बताइन्।

 

Tags: