post-slider post-slider

राष्ट्रियसभा सदस्य निर्वाचन आज, १९ सिटका लागि ५१ जना मैदानमा

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदैछ।

राष्ट्रियसभाा रिक्त हुन लागेको १९ पदका लागि आज मतदान हुन लागेको हो।

२०७४ फागुनमा निर्वाचित राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिने भएकाले अर्को ६ वर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको छ।

अर्का एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन्।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ सिटका लागि सात प्रदेसमा ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्।

नेकपा (एमाले) ले सबै १९ पदमा उम्मेदवारी दिएको छ। यद्यपि कोसी प्रदेसमा एमाले र राप्रपाबीच तालमेल भएको छ। दुवै दलबीच एकअर्काका एक–एक उम्मेदवारलाई सघाउने सहमति छ।

त्यस्तै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा(एकीकृत समाजवादी) ले २ र जनता समाजवादी पार्टी (जसपा) ले १ उम्मेदवार उठाएका छन्।

सत्ता गठबन्धनमा रहे पनि जनमत पार्टीले आफ्नो छुट्टै उम्मेदवार खडा गरेको छ। जनमतले मधेस प्रदेसमा १ र लुम्बिनी प्रदेसमा १ जना उम्मेदवार उठाएको छ।

त्यस्तै राप्रपा ७ र नेपाल मजदुर किसान पार्टीका चार जना उम्मेदवार छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनबमोजिम प्रदेससभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सम्मलित निर्वाचक मण्डलले राष्ट्रियसभा सदस्य निर्वाचित गर्नेछ।

प्रदेससभा सदस्यतर्फ ५४९ र पालिकातर्फ १ हजार ४९८ जना मतदाता रहेका छन्।

प्रदेससभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सम्पन्न भएपछि बिहीबार नै मतगणना सुरु हुने जानकारी दिए।

उनले बिहीबार अबेर रातिसम्म मतपरिणाम आउने गरी मतगणना गर्ने तयारी गरिएको बताए।

प्रदेसमा सम्बन्धित समूहतर्फ सबैभन्दा बढी मतभार ल्याउने उम्मेदवार निर्वाचित हुनेछ।

 

Tags: