post-slider post-slider

कोरला नाका सञ्चालन गर्न कति चुनौती?

Image
A A

काठमाडौं- मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवतजावत गर्न पाउने भएका छन्।

यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो।

चार वर्षअिघ खुलेको कोरला नाकाबाट मुस्ताङका पाँचवटै स्थानीय तहका बासिन्दालाई आवतजावत गर्न दिने दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूबीच सोमबार सहमति भएको ेहो।

यो सहमतिपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९८० जनालाई कोरला नाकाबाट चीन प्रस्थान प्रवेशपत्र वितरण गरेको छ।

सहमतिपछि गृह मन्त्रालय र स्थानीय तहहरूसँग समन्वय गरेर थप पालिकाबासीलाई प्रस्थान प्रवेशपत्र वितरणको प्रक्रिया अघि बढाउने तयारी जिल्ला प्रशासन कार्यालयले गरेको छ।

कोरला नाकामा पहिलो चरणमा चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले प्रवेश अनुमतिपत्रको आधारमा चीनको नेचुङ–लिचीसम्म व्यापार, व्यवसायका लागि नियमित आवतजावत थालेका छन्।

कोरोना महामारी फैलिएपछि २०७६ सालदेखि यो नाका पूर्ण रूपमा बन्द भएको थियो। 

त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो। विसं २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो।

२०५८ सम्म रोकटोक नरहेको सिमा २०५९ देखि चीनले तारबार गरेर मेला बहिष्कारको अवधिमा बन्द गर्दै आएको थियो।

कोरला नाका नियमित सञ्चालन र सबै मुस्ताङबासीलाई आवतजावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भएको बताइएको छ।

जोमसोमबाट कालीगण्डकी नदीको किनारैकिनार ११६ किलोमिटरको यात्रा गरेपछि समुद्र सतहबाट ४ हजार ६ सय मिटरको उचाइमा रहेको कोरला नाका पुगिन्छ।

यसअघि वर्षमा दुईपटक मात्रै व्यापारिक मेलाका लागि खुला गरिने यो नाका अन्य समय बन्द रहने गरेको थियो।

अब नाका पूर्ण रूपमा सञ्चालनमा आउने भएपछि मुस्ताङका दुई स्थानीय तहका एक हजारभन्दा बढी स्थानीयवासीलाई यो नाका हुँदै तिब्बतसम्म पुग्न सहज हुने अनुमान गरिएको छ।

पहिलोपटक पूर्ण रूपमा सञ्चालनमा आएको कोरला नाका वर्षभरि सञ्चालनमा ल्याउन भने कठिन रहेको स्थानीय अधिकारीहरू बताउँछन्।

प्रत्येक वर्षको जाडो याममा माथिल्लो मुस्ताङमा मानिसहरूको चहलपहल र गतिविधि कम हुने गरेको छ।

खासगरेर मंसिरदेखि फागुनसम्म अत्याधिक चिसोका कारण यो क्षेत्रमा आवतजावत कठिन हुने गरेको छ।

कोरला नाकाभन्दा १० किलोमिटर वर नेपालतर्फ सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट स्थापना गरिएको भए पनि त्यहाँ जाडो याममा सुरक्षाकर्मी बस्न सक्दैनन्।

सुरक्षा पोस्टसँगै रहेको भन्सारका कर्मचारीहरू पनि यसअघि मेलाको समयबाहेक सँधै जोमसोम बस्ने गरेका थिए।

 

Tags: