post-slider post-slider

मनसुन सुरू भएयता बाढी-पहिरोमा परी ४१ जनाले गुमाए ज्यान

Image
A A

काठमाडौं- मनसुन सुरु भए यता नेपालमा हालसम्म ४१ जनाको मृत्यु भएको छ। गत जेठ ३१ गतेबाट मनसुन सुरू भएयता बाढी–पहिरोबाट ४१ जनाको निधन भएको हो।

मनसुनजन्य विपदबाट ३१ जना बेपत्ता रहेको र ५५ जना घाइते भएको गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ।

बाढी-पहिरोका कारण संखुवासभामा तीन जनाको मृत्यु भएको छ भने १९ जना हराइरहेका छन्। बेपत्ता भएकाहरू मजदुर रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। उनीहरू सुपर हेवा हाइड्रोका मजदुर हुन्।

पहिरोबाट ओखलढुंगामा ४, ताप्लेजुङ, अर्घाखाँची, मकवानपुर, दोलखा ३-३ जनाको मृत्यु भएको छ। काठमाडौं, रसुवा, गोरखा, तनहुँ, रूकुम पश्चिम, बैतडीमा २-२ जनाको मृत्यु भएको छ।

बाढी-पहिरोले १ सय ३२ घरमा पूर्ण क्षति र १ सय ९४ घरमा आंशिक क्षति पुर्‍याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष बाढी-पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने अनुमान गरेको छ।

Tags: