post-slider post-slider

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच ‘खुलस्त’ कुराकानी, सम्बन्ध सुधारको प्रयास

Image
A A

काठमाडौं - विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले आफ्ना चिनियाँ समकक्षीसँग ‘खुलस्त’ कुराकानी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

चीनका अधिकारीहरूसँगको दुईदिने बैठकको आरम्भमा उनले चिनियाँ समकक्षीसँग कुराकानी गरेका हुन्।

ब्लिङ्कनले कूटनीति र ‘संवादका ढोकाहरू खुला राख्नुपर्ने’ आवश्यक्तामा जोड दिएको विदेशमन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।

करिब पाँच वर्षयता कुनै पनि शीर्ष अमेरिकी कूटनीतिज्ञले चीन भ्रमण गरेको यो पहिलोपटक हो।

अमेरिकी आकासमा एक शंकास्पद चिनियाँ जासुसी बलुनको उडानपछि करिब पाँच महिनााअघि ब्लिङ्कनको भ्रमण स्थगित गरिएको थियो।

अमेरिकी अधिकारीहरूले वार्ताको मुख्य लक्ष्य अत्यन्तै तनावपूर्ण भएको सम्बन्धलाई स्थिर बनाउनु रहेको बताएका छन्।

चीनका विदेशमन्त्री किन गांगले ब्लिङ्कनलाई बेइजिङ अमेरिकासँग स्थिर र रचनात्मक सम्बन्ध स्थापित गर्न प्रतिबद्ध रहेको बताएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी अधिकारीहरूले भने वार्तामा उनी वाशिङटन भ्रमणका लागि सहमत भएको बताएका छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार किनले चीन–अमेरिका सम्बन्धका लागि ताइवान मामिला ‘सबैभन्दा प्रमुख जोखिम’ भएको बताए र ताइवान मुद्दालाई ‘चीनको मुख्य चासो’ का रूपमा वर्णन गरे।

चीनले स्वशासित ताइवानलाई उसैको टुक्रिएको प्रान्तको रूपमा हेर्छ र अन्ततः त्यो बेइजिङको नियन्त्रणमा हुनेछ भन्ने ठान्छ।

तर, ताइनवानले आफूलाई चिनियाँ मुख्य भूमिभन्दा फरक ठान्छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले गतवर्ष चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए।

त्यसलाई बेइजिङले निन्दा गरेको थियो।

चिनियाँ विदेशमन्त्रीले ब्लिङ्कनलाई विशेषगरी विदेशी पाहुनाहरूलाई स्वागत गरिने भव्य स्टेट गेस्ट हाउसमा स्वागत गरेका थिए।

त्यसपछि दुवैले आ–आफ्नो झन्डाको अगाडि उभिएर हात मिलाए अनि त्यसपछि बैठक सुरू गर्न लामो टेबलमा उनीहरूका प्रतिनिधिमण्डलसँग बसे।

हालैका वर्षहरूमा दुई महाशक्तिबीच विकसित भएको चिसो सम्बन्धलाई दर्शाउनेगरी भेटघाट नितान्त रूपमा औपचारिक जस्तो मात्र देखिन्थ्यो।

अमेरिकाले यो यात्राबाट प्राप्त हुनसक्ने उपलब्धिका अपेक्षाहरूलाई घटाउँदै लगेको छ र दुवै पक्षले कुनै ठूलो सफलताको आशा नगरेको स्पष्ट पारेका छन्।

युक्रेनमा जारी युद्ध, उन्नत कम्प्युटर प्रविधिलाई लिएर उत्पन्न व्यापार विवाद, चिनियाँ मानवअधिकार आचरणलगायतका विषयमा अमेरिकीहरूले छलफल गर्ने अपेक्षा गरिएका छन्।

चिनियाँ अधिकारीहरूले ब्लिङ्कनको भ्रमणप्रति सामान्य प्रतिक्रिया व्यक्त गरेका छन् र अमेरिका सम्बन्ध सुधार गर्ने प्रयासमा इमानदार छ कि छैन भनेर प्रश्न उठाएका छन्।

 

Tags: