post-slider post-slider

प्रिमियर लिगमा आर्सनल र युनाइटेड विजयी, आज सिटी र लिभरपुलको भिडन्त

Image
A A

 

काठमाडौं- आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। ब्रेन्टफर्डमाथि शनिबार राति २-१ को जित निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिन सफल भएको हो।

आर्सनलको जितमा डेकलन राइस र काई हाभेर्ट्जले गोल गरेका थिए। खेलको १९औं मिनेटमा बेन ह्वाइटको क्रसमा हेडरमार्फत् गोल गर्दै राइसले खेलमा आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफको अन्त्यतिर आर्सनल गोलरक्षक एरन राम्सडेलले क्लियर गर्न खोजेको बल योआन विस्सालाई लागेर पोस्टमा पुगेको थियो।

तर खेलको ८६औं मिनेटमा ह्वाइटकै पासमा हाभेर्ट्जले फ्रि-हेडर प्रहार गर्दै खेलमा आर्सनललाई जित दिलाए।

शीर्ष स्थानमा उक्लिएको आर्सनलको २८ खेलमा ६४ अंक भएको छ। एक खेल कम खेलेका दोस्रोको लिभरपुल ६३ र तेस्रो स्थानको म्यानचेस्टर सिटीको समान ६२ अंक छ।

प्रिमियर लिगमा आइतबार लिभरपुल र सिटीले एक-अर्काको सामना गर्नेछन्।

यस्तै, इंग्लिस प्रिमियर लिगमा शनिबार साँझ म्यानचेस्टर युनाइटेड विजयी भएको छ।

युनाइटेडले एभर्टन माथि २-० को जित निकालेको हो।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र मार्कस रासफर्डले एक-एक गोल गरे। दुवै गोल पेनाल्टीमार्फत नै भएको थियो।

१२औं मिनेटमा युनाइटेडले सुरुवाती अग्रता लिएको थियो। अलेहान्द्रो गार्नाचोलाई बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा ब्रुनो चुकेनन्।

३६औं मिनेटमा खेलको दोस्रो गोल आएको थियो। युनाइटेडले गार्नाचोलाई नै बेन गडफ्रेले बक्समा लडाएपछि अर्को पेनाल्टी पाएको थियो। सो पेनाल्टी भने रासफर्डले लिँदै गोल गरेका थिए।

जितसँगै युनाइटेडको २८ खेलमा ४७ अंक भएको छ। एभर्टन भने २८ खेलमा २५ अंक सहित १६औं छ।

प्रिमियर लिगमा आइबार थप चार वटा खेल हुँदैछन्।

 

Tags: